‘विद्यालय शिक्षा विधेयक हिउँदे अधिवेशनबाट पारित गर्नुपर्छ’

काठमाडौं। नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक कार्यक्रमका सहभागीले संसदको यही हिउँदे अधिवेशनबाट विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसबाट देशका विभिन्न पालिकामा निर्वाचित मेयर, उपमेयर र पालिका अध्यक्ष तथा उपाध्यक्षसँग केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले विधेयकका विषयमा विमर्श गरेको हो।

स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विमर्श गरिएको महरले बताए।

‘स्थानीय प्रतिनिधिहरूको धारणा के छ?, विद्यालय शिक्षा विधेयकमा के सुधार गर्नुपर्ने छ? र कांग्रेसबाट विधेयकका विषयमा बोक्नुपर्ने एजेन्डा के–के हुन् भन्ने विषयमा छलफल गर्दै सुझाव सङ्कलन गरेका छौं’ महरले भने, ‘उहाँहरू सबैले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिनुभएको छ।’

शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला आफूहरूको नीति र प्राथमिकतामा पनि रूपान्तरण आवश्यक रहेको उनले बताए। ‘राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी छ’ महरले भने।

कार्यक्रममा बोल्दै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए।

कांग्रेसले सदनमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयक निर्माणका लागि निरन्तर छलफल गरिरहेको छ। विभागले पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारीसँग छलफल गरेको थियो। दोस्रो चरणमा सरोकारवालासँग पार्टी मुख्यालय सानेपामा छलफल गरेको थियो।

उक्त विधेयक चाँडोभन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने लगायतका माग अघि सार्दै शिक्षकहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। नेपाल शिक्षक महासंघको अगुवाईमा दबाबमूलक प्रदर्शन, भेला र धर्ना कार्यक्रमहरु आयोजना भइरहेको छ।

आन्दोलनरत् शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *