लेटाङले जित्यो मिल्स गोल्डकपको उपाधि
विराटनगर। पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ। फाइनलमा पराजित हुँदै उदयपुर उपविजेता बनेको छ।
विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाईघाटलाई १–० गोलले अन्तरले हराउँदै लेटाङले उपाधि जितेको हो।
लेटाङलाई उपाधि दिलाउन पुजन चौधरी नायक भए। खेल सुरु भएको ४५ औं मिनेटमा निर्णायक गोल गर्दै उनी टिमलाई उपाधि दिलाउन सफल भए। सुजन विकले निकालेको क्रस पासलाई पुजनले चलाखीपूर्ण तरिकाले जाली चुमाए।
उपाधिसँगै लेटाङले १ लाख १ हजार रुपैयाँसहिट ट्रफी प्राप्त गर्यो। उपबिजेता उदयपुरको फ्युजन फुटबल क्लबले ५१ हजार रुपैयाँमा चित्त बुझायो।
लेटाङ सेमिफाइलनमा घरेलु टिम पेमा स्पोर्टिङ क्लब विराटनगरलाई ६–३ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो।
विधागत पुरस्कारमा पनि लेटाङको बर्चस्व कायम रहयो। बेष्ट गोलकिपरमा लेटाङका गोल रक्षक समिर क्षेत्री, बेष्ट प्लेयर अफ द टुनामेन्ट लेटाङका किरण शंकर, बेष्ट प्रशिक्षक लेटाङका इन्द्र राई घोषित भए। त्यसैगरी बेष्ट डिफेन्डरमा उदयपुरका युवराज थापा घोषित भए भने हाइस्कोरमा लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ घोषित भए। उनीहरुले प्रतियोगिताभर समान २–२ गोल गरेका थिए।
चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलगायतले पुरस्कार वितरण गरेका थिए।
