खुला साइकल दौडमा उदयपुरका युवक प्रथम
झापा। झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितामा उदयपुर गाईघाटका निमा शेर्पा प्रथम भएका छन्।
उनले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए। उपाधिसँगै शेर्पाले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए। ३० मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका उनले नगद १० हजार र ट्रफी पाए।
मेचीनगरकै मिलन राजवंशी तेस्रो भए। ३० मिनेट २४ सेकेन्डमा दूरी पूरा गरेका उनले नगद ७ हजार ५०० र ट्रफी प्राप्त गरे। प्रतियोगितामा प्रदिपकुमार शाह, बादल लिम्बू, साहिल नेपाली, समिर चौधरी र युवराज लावतीले सान्त्वना पुरस्कार पाए। उनीहरुले जनही नगद २ हजार, मेडल र प्रमाणपत्र पाए।
महिला सहभागी सुष्मा शाक्य, संगीता दनुवार र डाक्टर गृष्मा रावललाई प्रोत्साहनस्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर लगायातका जिल्लाबाट १० वर्षीय बालकदेखि ६० वर्षसम्मका ५० जना खेलाडीको सहभागिता थियो।
सुरुङ्गा बजारबाट सुरु भएको साइकल दौड कनकाई नगरका विभिन्न पर्यटकीयस्थलहरु जामुनखाडी, प्रजापति, धनुषकोटी हुँदै सुरुङ्गामा आएर टुंगिएको थियो।
विजेताहरुलाई कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, क्लबका संस्थापक अध्यक्ष प्रविन तिम्सिना, सचिव कमल कट्टेल, अध्यक्ष सुमन कार्की, निवर्तमान अध्यक्ष टिकाराम भण्डारी, कार्यक्रम संयोजक पूर्णकुमार नेवार, सचिव भीम राजवंशी लगायातले पुरस्कार प्रदान गरेका थिए।
