विपतको जोखिमलाई ख्याल गर्दै विराटनगर-६ मा पूर्वतयारी
विराटनगर। सुक्खा मौसममा तराई मधेश क्षेत्रमा आगलागीको जोखिम बढी हुने गर्छ। यही बेला हावाहुरी पनि चल्ने भएकाले झनै समस्या पर्ने गरेको छ।
आगलागीबाट बच्न घरघरमा सावधानी अपनाउनु पर्छ। यसै सन्दर्भमा विराटनगर महानगरपालिका–६ को वडा कार्यालयले सम्भवित जोखिमलाई ख्याल गर्दै पूर्वतयारी गरेको जनाएको छ।
खासगरी चैत–वैशाख महिनामा हावाहुरीसँगै आगलागको जोखिम हुने गरेको छ। विराटनगरका केही स्थान र मोरङका विभिन्न स्थानमा यसै साता मात्र आगलागीका थुप्रै घटना भएका छन्।
विराटनगर महानगरपालिका वडा ६ का अध्यक्ष हरिशचन्द्र सहनीका अनुसार यो समयमा हावाहुरी र आगलागीका कारण थुप्रै अप्रिय घटना घट्ने गरेको छ। हुरीले रुख ढाल्ने, बिजुलीका खम्बा ढाल्ने र कच्ची घरका छाना उडाउने जस्ता घटना हुने गरेको उनले बताए।
अघिल्ला वर्षहरुमा यो वडामा पनि यस्ता घटनाबाट धेरै क्षति भएको थियो। यो वर्ष भने हालसम्म कुनै अप्रिय घटना नभएको वडाध्यक्ष सहनीले जानकारी दिए।
मौसम परिवर्तनका कारण स्थानीय बासिन्दाहरुमा स्वास्थ्य समस्या भने देखिने गरेको उनलेब ताए। ज्वरो, रुघाखोकी जस्ता समस्या खासगरी बालबालिका र वृद्धवृद्धामा देखिएको छ।
वडा कार्यालयले हावाहुरी वा आगलागीका घटना भए यसका लागि पूर्वतयारी गरेको सहनी बताउँछन्। कुनै घटना भइहाले तत्काल पुगेर नियन्त्रण, उद्धार र राहतका काम गर्ने गरी तयारी गरिएको उनको भनाइ छ।
‘आपतकालीन अवस्थाका लागि वडाको बिपत कोषमा बजेट छुट्याएका छौं’ उनले भने, ‘यदि वडा भित्रमा केही अप्रिय घटना हुन गए त्यो बजेट विपतमा परेका नागरिकलाई सहयोग, उद्धार र राहतका लागि प्रयोग गरिने छ।’
वडाध्यक्ष सहनीले हावाहुरीको मौसम साथै आगलागीको जोखिम पनि यो बेला धेरै हुने भएकाले सावधानी अपनाउन वडाबासीलाई आग्रह गरेका छन्। हावाहुरी आएको समयमा अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन साथै बाल बालिका तथा वृद्वृदाहरुलाई विशेष ध्यान दिन उनले सुझाव दिएका छन्।
विराटनगरको भट्टा चोकनजिक केही दिनअघि आगलागी हुँदा स्थानीय बासिन्दाको तीन वटा घर जलेर नष्ट भएको थियो। उक्त घटनामा लाखौंको धनकाल क्षति भएको प्रहरीले जनाएको छ।
यसैगरी मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा गत मंगलबार भएको आगलागीमा ११ परिवारको १६ वटा घर जलेर नष्ट भएको थियो।
उक्त घटनामा जलेर स्थानीय मोहम्मद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको थियो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार आगोले केही चौपाया पनि मरेका थिए। दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको थियो।
एक महिनामा ५०१ स्थानमा आगलागी
सुक्खा मौसम लागेसँगै एक महिनाको अवधिमा देशका विभिन्न ५०१ स्थानमा आगलागीका घटना भएका छन्। आगलागी परी ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक छन्। आगलागीका घटनामा ३० जना पुरुष, २६ जना महिला, ६ जना बालक र तीन जना बालिका घाइते भएका छन्।
नेपाल प्रहरीको मुख्यालयका अनुसार सो अवधिमा आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ। यसैगरी, जलेर १४६ पशुचौपाया मरेका छन्। आगलागीबाट हालसम्म ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीका घटना सबैभन्दा बढी कोशी प्रदेशमा भएको छ। कोशीमा १३५ आगलागीका घटना भएका छन् र यसैगरी, मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ वटा आगलागीका घटना घटेको प्रहरीको तथ्यांक छ।
वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेकाले सचेत हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।
-प्रशिक्षार्थी
