इलाममा देश-विदेशका सर्जक भेला हुँदै

इलाम। चैत लागेसँगै इलाम साहित्य, संगीत र कलामय हुने भएको छ। देश विदेशका सर्जकहरू भेला भएर साहित्य चर्चा गर्नेछन्। आफ्ना रचना सुनाउने छन्। कलाकारहरू भेला भएर आफ्नो प्रस्तुति दिने छन् ।

यो अवसर ‘साहित्य महोत्सव’ ले जुराउन लागेको हो। पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले हुन लागेको महोत्सवको यो चौथो संस्करण हो। चैत १ र २ गते सदरमुकाममा चर्चित, स्थापित र उदीयमान सर्जकहरू एकै ठाउँ हुने छन्।

बिहान भानु सालिक परिसरमा भेला भएर विभिन्न मौलिक झाँकीसहित प्रभातफेरीबाट सुरु हुने महोत्सवका अन्य कार्यक्रमहरू गौतम बुद्ध सभागृहमा सञ्चालन हुने छन्।

महोत्सवमा नेपालका विभिन्न स्थानका साथै भारतको सिक्किम, सिलिगुडी, दार्जिलिङ र बंगलादेशका साहित्यकार, लेखक तथा कलाकर्मी सहभागी हुने आयोजक इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजले जनाएका छन्। महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठानर रेडपाण्डा नेटवर्कको सहकार्य रहने छ भने व्यवस्थापनको पाटोमा बुद्ध एयरले पनि सघाउने छ।

त्यस अवसरमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण, प्रविधिलगायत विषयमा अन्तरक्रिया र बहस हुने प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए। महोत्सवका अवसरमा भेला हुने डेढ सयभन्दा बढी सर्जकहरुका कारण इलाम साहित्य, संगीत र कलामय हुने उनको भनाइ छ।

महोत्सवको पहिलो दिन भारतको जवाहरलाल नेहरू युनिभर्सिटी (जेएनयु) का चेयर प्रोफेसर प्रा. आनन्द कुमारको मुख्य सम्भाषण ‘की नोट स्पिच’ रहनेछ। यस्तै, ‘गाउँको सौन्दर्य’ विषयमा हाङयुग अज्ञात, ‘कला र अध्यात्म’ विषयमा टीकाराम यात्री, आनी छोइङ डोल्मा र मीन डोल्माबीच बहस हुनेछ।

‘विभेदविरुद्धका आलाप’ मा दीपक सापकोटा र प्रकाश सपुत, ‘कविताको पहिचान’ मा फणीन्द्र संगम, श्रवण मुकारुङ, मिश्र वैजयन्ती र अभय श्रेष्ठ तथा ‘मुन्धुम र पर्यावरण’ मा प्रदीप मेन्याङ्बो, अर्जुनबाबु माबोहाङ र सन्ध्या सुब्बाबीच बहस हुने तय भएको छ।

यसैगरी, ‘सामाजिक सञ्जाल र मूल्य संकट’ शीर्षकमा रमण पौडेल र पृथ्वीसुब्बा गुरुङ, ‘पर्यापर्यटनः अबको बाटो’ मा गिरिराज बाँस्कोटा, छविलाल खतिवडा, विष्णु काफ्ले र प्रवीण खालिङबीच बहस हुनेछ।’

महोत्सवको दोस्रो दिन ‘इलामे इलमः पेसा र पैसा’ विषयमा टीका क्षेत्री, योगेन्द्रमान श्रेष्ठ, कृष्ण पौडेल र गायत्री थेगिमले बहस गर्नेछन्। अर्को सेसनमा ‘युवा सपना र संघर्ष’ मा विश्वास खड्काथोकी, आशा उपरकोटी, मिलन ताम्ली र प्रेमिका रानामगर, ‘डिजिटल दुनियाँमा सर्जक’ बारे दीपा दाहाल, शंकर तिवारी, कृष्ण बराल, शैलेन्द्र अधिकारीले छलफल गर्ने छन्।

यस्तै, ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’ विषयमा मधुराज केरुङ, शिव रिजाल, कोमल फुयाल, ‘मन्द्राकान्ताः पात्र विमर्श’ मा सृजना पोख्रेल र बसन्त बस्नेतबीच बहस हुने आयोजकले जनाएको छ।

‘युगदेखि शब्दसम्म’ मा मुनाराज शेर्मा, राजन मुकारुङ, नरेश काङमाङ, देवान किराती, ‘जीवन फर्केर हेर्दा’ मा दीपक सापकोटा र खगेन्द्र संग्रौलाबीच छलफल हुने छ भने ‘इम्बोइडिङ डाइभर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेसन’ विषयमा केन सुवेदी, गौरङ्गाचन्द्र मोहन्ता, साइद काइस र चन्द्र गुरुङ,

‘आशा र निरासाको राजनीति’ मा बसन्त बस्नेत, कृष्ण खनाल, नारायणकाजी श्रेष्ठ, गगन थापा र गोकर्ण विष्टबीच बहस हुनेछ भने त्यसै दिन नवराज पराजुलीको ‘इलाम कविता कन्सर्ट’ अर्को आकर्षण हुने छ।

यसै अवसरमा महेन्द्र गिरीको संयोजनमा गजल साँझ पनि आयोजना हुने आयोजकको भनाइ छ।

प्रतिष्ठान अध्यक्ष थाम्सुहाङका अनुसार तीन वर्षअघि सुरु गरिएको महोत्सवले जिल्लाको साहित्य क्षेत्रका गतिविधि जगाइराख्ने साथै पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने आशा गरिएको छ। इलाम नगरपालिकाका मेयर केदार थापा ग्रामीण अर्थतन्त्र उकास्न साहित्य महोत्सव महत्वपूर्ण हुने बताउँछन्।

इलाममा भेला हुँदै देश-विदेशका चर्चित सर्जकहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *