इलाममा भेला हुँदै देश-विदेशका चर्चित सर्जकहरू

इलाम । चैत अन्तिम साता देश-विदेशका स्रष्टा इलाममा भेला हुँदैछन् । साहित्यिक स्रष्टामात्र होइन, राजनीतिक क्षेत्रका अगुवा, सामाजिक क्षेत्रका अभियन्ता र कलाकारहरुको पनि सहभागिता हुँदैछ ।

भेला हुनुको विशेष उद्देश्य छ– आफ्ना क्षेत्रका समसामयिक विषयमा गहन छलफल गर्नु । यही मेसोमा इलामले चैत २६ र २७ गते चर्चित साहित्यकार, कलाकार, राजनीतिज्ञलगायतलाई स्वागत गर्दैछ ।

इलाम सदरमुकाममा आयोजना हुने ‘इलाम साहित्य महोत्सव’ ले यो संयोग जुराउने भएको हो ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ हुन लागेको महोत्सवमा नेपाल र भारतका चर्चित साहित्यकारहरुले अनुभव आदान प्रदान गर्नेछन् ।

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा रंगकर्मीहरुको पनि सहभागिता रहने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताए ।

इलाम बाहिरबाट महोत्सवमा डेढ सयभन्दा बढी साहित्यकारहरुलाई निमन्त्रणा गरिएको नगर साहित्य कला संगित प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।

साहित्यप्रति युवाहरुको आकर्षण बढाउन साहित्य महोत्सवले मद्दत पुग्ने साहित्य समाजका सल्लाहकार बिमल बैद्यले बताए ।

साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रबर्द्धन गर्दै साहित्यलाई देश बिदेशमा चिनाउने उद्देश्यका महोत्सवको आयोजना गर्न लागिएको आयोजक साहित्य समाजका सचिव रोशन राईले बताए ।

महोत्सवमा नेपालका विभिन्न जिल्ला भारतको झारखण्ड, दार्जिलिङ, कोलकाता, सिक्किम, सिलिगुडीबाट अग्रज साहित्यकारहरु आउने इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरु उपेन्द्र सुब्बा, बिजय बराल र करिश्मा मानन्धरको पनि उपस्थिति रहनेछ ।

महोत्सव अवसरमा विभिन्न विषयसँग सम्बन्धित फरक फरक शीर्षकमा अन्तरक्रिया गरिनेछ ।

‘अंक, अर्थ र अध्यात्म’ शीर्षकमा हुने कार्यक्रमका प्रमुख वक्ता विश्व पौडेल रहनेछन् । अतिथिका रुपमा सांसद महेश बस्नेत, इलाम गरपालिकाका मेयर केदार थापा र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई रहनेछन् ।

यसैगरी ‘कवितामा स्थानीय चेत’ शीर्षकमा हुने कार्यक्रममा सर्जकहरु तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन हुनेछन् । यो कार्यक्रमलाई राजु स्याङ्तानले सहजीकरण गर्नेछन् ।

‘कला र आदिवासी सौन्दर्य चेतना’ शीर्षकको कार्यक्रममा बन्दना टेटे, अश्विनीकुमार पंकज (झारखण्ड, भारत) मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । यो कार्यक्रमलाई राजा पुनियानीले सहजीकरण गर्नेछन् ।

यस्तै, ‘महाभारादेखि टिष्टासम्म’ शीर्षकमा हुने अर्को कार्यक्रमलाई सहजीकरण गर्नेछिन् शकुन्तला जोशीले । यो कार्यक्रमका वक्ताहरुमा छुदेन काविमो र वसन्त बस्नेत रहनेछन् ।

‘कस्तो सिनेमा?’ शीर्षकमा हुने कार्यक्रमका वक्ताहरु उपेन्द्र सुब्बा, विजय बराल र केकी अधिकारी हुनेछन् । यो कार्यक्रमलाई अन्वेश थुलुङले सहजीकरण गर्नेछन् ।

यसैगरी ‘लेखनः सहज कि सार्थक?’ विषयमा हुने कार्यक्रमका वक्ताका रुपमा युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालको सहभागिता हुनेछ । यो छलफलको सहजीकरण विमाल वैद्यले गर्नेछन् ।

‘समावेशी लेखन’ विषयमा हुने अर्को कार्यक्रमका वक्ताहरुमा डा. ज्ञानेन्द्र यक्सो, धर्मेन्द्र नेम्वाङ र मिश्र वैजयन्ती रहनेछन् । जसलाई बालिका थपलियाले सहजीकरण गर्नेछिन् ।

यस्तै, ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’ विषयको छलफलमा कल्पना महर्जन, कृष्ण साह र सोनाम टासी लामा वक्ताका रुपमा सहभागी हुनेछन् ।

‘नारी, पर्या–साहित्य र सत्ता’ विषयको छलफलमा रेमिका थापा, सञ्जीव पौडेल र शोभा यल्मू अतिथिका रुपमा सहभागी हुनेछन् भने निमेश निखिलले सहजीकरण गर्नेछन् ।

यसैगरी ‘मातृभाषा साहितयमा शिल्प चेतना’ विषयक छलफलमा मधुराज केरुङ र संजोग लाफा मगर वक्ताका रुपमा सहभागी हुनेछन् ।

अर्को छलफल कार्यक्रम ‘कोशी प्रदेश कहिले बन्छ एक नम्बर प्रदेश?’ शीर्षकको हुनेछ । यसमा गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुषाल र वसन्त बस्नेत सहभागी हुनेछन् ।

यसै अवसरमा चर्चित सर्जक कुमार नगरकोटीको ‘विशेष कविता वाचन’ पनि हुने आयोजकले जनाएको छ ।

महोत्सवको अर्को आकर्षणका रुपमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणबारे चेतनामूलक चित्रकला कार्यशाला र प्रदर्शनी पनि हुनेछ ।

रेडपाण्डा नेटवर्कको समेत सहयोगमा सञ्चालन हुने महोत्सवका अवसरमा गौतमबुद्ध सभागृह परिसरमा चित्रकला कार्यशाला हुनेछ ।

कार्यशालामा काठमाडौंबाट ५ जना व्यावसायिक चित्रकारहरुको सहभागिता हुनेछ भने स्थानीय ५ जना कलाकार पनि सहभागी हुनेछन् ।

त्यसक्रममा रेडपाण्डासम्बन्धी चित्रहरु सिर्जना गरेर प्रदर्शन गरिने जनाइएको छ ।

आवरण तस्बिरः हरि गुरूङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *