कानुनविपरीत वित्तीय कारोबारमा गर्ने व्यक्ति रिहा

विराटनगर। सुनचाँदी पसलबाट कानुनविपरीत वित्तीय कारोबार गरेको आरोपमा पक्राउ परेका व्यवसायी छुटेका छन्। विराटनगर महानगरपालिका–८ घर भएका सुनचाँदी व्यवसायी ३९ वर्षीय पवन श्रेष्ठलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले धरौटीबापत १ लाख ५० हजार रूपैयाँ लिएर तारेखमा छाड्न सोमबार आदेश दिएको हो।

आदेशपछि धरौटी रकम बुझाएर श्रेष्ठ छुटेका छन्। विराटनगर–७ मेन रोडमा चाँदनी गहना शोरुम नामको सुनचाँदी पसल सञ्चालन गर्दै आएका श्रेष्ठलाई प्रहरीले माघ २१ गते सुनसरीबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार सर्वसाधारणको करोडौं रूपैयाँ ठगी गरेर उनी फरार भएका थिए। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै श्रेष्ठलाई प्रतिवादी बनाएर गत आइतबार मोरङ अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो।

अदालतमा बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो। बहस सकिएपछि इजलासबाट उक्त आदेश आएको हो।

तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी धरौटीबापतको रकम लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको बुढाथोकीले जानकारी दिए। श्रेष्ठविरुद्ध ४५ जना पीडितले मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए। अनुसन्धानबाट ५ करोड ६९ लाख ८४ हजार ४ सय ५७ रूपैयाँ उनले ठगी गरेको पत्ता लागेको थियो।

ठगी गरेको रकम फिर्ता हुनुपर्ने मागदाबीसहित श्रेष्ठलाई थुनामा राख्नुपर्ने माग गरेर वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। सुनचाँदीको कारोबारका नाममा पास बुक प्रयो गरी वित्तीय कारोबार गर्ने उनले सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर पसल बन्द गरी श्रेष्ठ फरार भएको प्रहरीको भनाइ छ। उनले त्यसरी रकम राख्दा आकर्षक ब्याज दिने भनेर लोभ्याएका थिए।

एकै व्यक्तिबाट १९ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको प्रहरीको भनाइ छ। वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ। सुनचाँदी पसलले यो कारोबार गर्न पाउँदैनन्।

धेरै ब्याजको लोभ देखाएर बचतकर्ताबाट लाखौं ठगी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *