धेरै ब्याजको लोभ देखाएर बचतकर्ताबाट लाखौं ठगी
विराटनगर। सुनचाँदीका गहना बेच्ने पसलमा कानुनविपरीत वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको छ। वित्तीय संस्थाजस्तै ‘पास बुक’ राखेर ज्वेलर्सबाट वित्तीय कारोबार गरेको पाइएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो।
कानुनविपरीत वित्तीय कारोबार गर्दा सर्वसाधारणको लाखौं रूपैयाँ जोखिममा परेको छ। वित्तीय कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ। सुनचाँदी पसलले यस्तो कारोबार गर्न पाउँदैनन्।
विराटनगर महानगरपालिका–७ मेन रोडमा चाँदनी गहना शो–रुम नाम दिएर सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय पवन श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
‘पास बुक’मार्फत वित्तीय कारोबार गरी सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर फरार भएका श्रेष्ठलाई माघ २१ गते सुनसरीबाट पक्राउ गरिएको जोशीले बताए। पसल नै बन्द गरेर भागेका श्रेष्ठबाट ठगीमा परेको भन्दै हालसम्म ११ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइसकेका छन्। उनीहरुबाट ८६ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ।
सर्वसाधारणलाई आकर्षक ब्याजको लोभ देखाएर सुनचाँदी पसलबाटै वित्तीय कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ। लाखौं रूपैयाँ लिएर पसल सञ्चालक फरार बनेपछि पीडितहरुले जाहेरी दिएका थिए।
डीएसपी जोशीका अनुसार श्रेष्ठले एकै व्यक्तिबाट १९ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ। श्रेष्ठबाट ठगीमा पर्नेको संख्या ठूलो रहेको उल्लेख गर्दै प्रहरीले धमाधम उजुरीहरु आइरहेको जनाएको छ।
श्रेष्ठले अवैध वित्तीय कारोबारमार्फत सर्वसाधारणको करोडौं रूपैयाँ ठगी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। अनुमति बिना वित्तीय कारोबार गरेका उनीविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी जोशीले बताए।
प्रहरीका अनुसार सुन पसल देखाएर अवैध हिसाबले वित्तीय कारोबार गरी सर्वसाधारणबाट ठगी गरेको रकम भने श्रेष्ठले घरजग्गा खरिदलगायतका व्यक्तिगत प्रयोजनमा खर्च गरेको पाइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभूषण शाहले सुनचाँदी पसलबाट वित्तीय कारोबार हुने गरेको कुरा आफूलाई थाहा नभएको बताए। सुनचाँदी पसलबाट सुन र चाँदीलगायतका धातुजन्य वस्तुको खरिद बिक्रीका साथै गहना बनाउने र मर्मत सम्भार गर्न मात्रै पाइने उनको भनाइ छ।
