प्रेमी छाड्न नमान्दा आमा र मामाद्वारा चाँदनीको हत्या

विराटनगर। १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका परिवारकै ६ जना सदस्यलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार आदेशलगत्तै अभियुक्तहरुलाई आइतबार जिल्ला कारागार मोरङ चलान गरिएको छ।

तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको हो। चाँदनीको हत्यामा आफ्नै अभिभावक र मावली परिवारका सदस्यको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ।

आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले उनको हत्या गरेको प्रहरीले जनाएको छ। आमा र मामाबाहेक हत्यामा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादवको मिलेमतो रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीको अनुसन्धानबाट प्रतिवेदन प्राप्त भएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पारेर ६ जना अभियुक्तविरुद्ध जिल्ला अदालत मोरङमा गत मंगलबार ज्यान सम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो।

प्रतिवादीमध्ये आमा र मामाविरुद्ध कर्तव्य ज्यान तथा अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता भएको छ। कसुर ठहर भए मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने कानुनी व्यवस्था छ।

विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्र चाँदनीको हत्या भएको थियो। घाँटी थिचेर माघ ११ गते दिउँसो हत्या गरेपछि नजिकै खाल्डो खनेर शव गाडिएको पाइएको थियो।

माघ १८ गते प्रहरीले शव उत्खनन गरी कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाएर थप अनुसन्धान र कारबाही प्रक्रिया थालेको थियो। प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यको सहमतिमा भएको पत्ता लागेको हो।

आमा र मामाले घाँटी थिचेर उनको हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । अरुले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेका थिए।

प्रहरीका अनुसार भारतको छपरा जिल्ला घर भएकी चाँदनी भारतीय बालकसँग प्रेम सम्बन्धमा थिइन्। केही समयअघि भागेर बिहे गरेका उनीहरुलाई छुटाएर बाबुआमाले पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आएका थिए। विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए।

आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन्। छोरीको हत्या गरको भोलिपल्ट उनले पनि माइती घर छाडेको प्रहरीले जनाएको छ। प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको एसपी चिमरियाले बताए।

प्रेमीबाट छुटाउन सम्झाइबुझाइ गर्दा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने बताएकी थिइन्। त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लागेको उनले बताए।

बालिका हत्यामा संलग्न आमाबुबा र मावलीसहित ६ जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *