‘नो केबलकार’ पक्ष वार्ताका लागि सकारात्मक, समन्वय समिति गठन
सुनसरीको इटहरीमा प्रदर्शन गर्दै आन्दोलनकारी। फाइल तस्बिर
विराटनगर। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको मुक्कुम्लुङ संरक्षण संस्थाले सरकारसँग वार्ताका लागि सकारात्मक पहल गरेको छ। उक्त संस्थाले सरकारसँग संवादका लागि ‘वार्ता समन्वय समिति’ गठन गरेको छ।
गृह मन्त्रालयले केबलकारको विरोधमा आन्दोलनमा उत्रिएको पक्षसँग वार्ताका लागि आइतबार सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गरी वार्ता टोली गठन गरेको थियो।
‘नो केबलकार’ नारासहित आन्दोलनमा उत्रिएका संस्थाहरुले सोमबार प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा शंकर लिम्बु, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहनेगरी वार्ता समिति गठन गरेको हो। आन्दोलनरत पक्षले राजनीतिक तहबाट मात्रै वार्ता हुनुपर्ने माग गर्दै आएको छ।
सरकारले सहसचिवको नेतृत्वमा समिति बनाएपछि प्राज्ञ तुम्याहाङको नेतृत्वमा वार्ता सहजीकरण समिति निर्माण गरेको पहिचान पक्षधरले जानकारी दिएको छ।

