शिक्षकहरूद्वारा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग
तस्बिर सौजन्यः माधवप्रसाद धिताल
काठमाडौं। शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित बनेको नेपाल शिक्षक महासंघले आन्दोलनको नयाँ स्वरुप अपनाएको छ। महासंघमा आबद्ध शिक्षकहरूले आइतबारबाट सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्दै अभियान चलाएका छन्।
अध्यादेशमार्फत सरकारले शिक्षकलाई पनि सेवामा आधारित पेन्सनमा समावेश गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन्। उनीहरूले शिक्षक सरुवा निर्देशिकाको पनि विरोध गर्दै आएका छन्।
सरकारसँग भएको सहमतिअनुसार ऐन जारी गर्न उनीहरूले ध्यानाकर्षण गराउँदै आएका छन्। आन्दोलन अन्तर्गत पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ।
माघ ३० गते पालिका कार्यालयमा कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा गरिएको छ। माघ १६ र १७ गते बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो।
