‘कोही पीडित हुनुहुन्छ भने रोएर नबस्नुहोस्, न्याय खोज्नुहोस्’
उच्च शिक्षा अध्ययन गर्न क्यानाडा आएकी एक जना नेपाली युवती आफूले तिहारमा भाइटीका लगाइदिएका नेपाली युवकहरूबाटै सामूहिक बलात्कारको सिकार भएकी छन्। यो घटना बाहिरिएपछि पीडित युवतीलाई पीडक र तिनका आफन्तले निरन्तर ज्यान मार्नेसम्म धम्की दिइरहेका छन्।
यो घटना नेपाली समुदाय र अरुमा पनि निकै चासो र चर्चाका रूपमा व्यापक भइरहेको छ। पीडित युवती मानसिक रूपमा कमजोर बनेकी छन्। उनलाई सहयोगको खाँचो छ यतिबेला। यही मेसोमा पीडितको सम्पर्कमा आएकी एनआरएनए क्यानाडाकी महासचिव चन्दा अधिकारीले उनलाई सहयोग गरिरहेकी छन्। संस्थाका तर्फबाट के कस्तो सहयोग भइरहेको छ भन्ने विषयमा हामीले उनीसँग विस्तृत कुराकानी गरेका छौं।
कुराकानीका क्रममा महासचिव अधिकारीले हामीसँग भनिन्-
जहिलेदेखि मैले टिकटकबाट उहाँको बारेमा थाहा पाएँ, त्यसै बेलादेखि चासो राखेको हुँ। टिकटक लाइभमा म जोडिएर उहाँ बहिनीको बारेमा सुनें। अनि बहिनीलाई इन्बक्स गरें। मैले आफ्नो परिचय दिएर आफ्नो नम्बर पनि दिएर म सहयोग गर्न सक्छु, मलाई म्यासेज गर्नु भनें। जसले लाइभ गरिरहेको थियो, उहाँलाई पनि इन्बक्स म्यासेज लेखेर नम्बर दिएँ। तर कसैबाट सम्पर्क भएन।
मैले नेपाली राजदूतावासमा फोन गरें। राजदूतले हल्का हल्ला सुने पनि आफूलाई यसबारे धेरै थाहा नपाएको, रेजिना म्यामलाई थाहा छ भन्नुभयो। रोजिना म्यामले कतैबाट खबर आएको सम्बन्धित बहिनीको तर्फबाट केही जानकारी नआएको बताउनुभयो।
त्यतिबेलासम्म खासै जानकारी पाउन नसकेपछि म बहिनीलाई खोज्न कामै छाडेर लागें। कसोकसो गरी एकजना अर्को बहिनीको नम्बर पाएँ, उहाँलाई सम्पर्क गरें। संयोगले ती बहिनी पनि उहाँकै साथमा हुनुहुँदो रहेछ।
त्यस बेला उहाँहरु धेरै डराइरहनु भएको थियो। धेरै धम्कीहरु आइरहेको रहेछ। अर्को बहिनी मैले पहिलेदेखि चिनिराखेको भएकाले सोधें। एनआरएनएमा जाँदा पनि कुरा बाहिरिने र अफ्ठ्यारो पर्ने हो कि भन्ने लागेको रहेछ।
तर मैले चिनेको बहिनी भएको र संस्थाको महासचिव भएको हुनाले सहयोग हुन सक्छ भन्ने लागेछ। त्यसपछि ती पीडित बहिनीलाई मैले भेट्न पाएँ।
जब मैले उहाँलाई भेटें। मैले देख्न सक्ने स्थितिमा हुनुहुन्थेन। ओठहरु कामिरहेका थिए, बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन। हामी गाडीमा बसेर कुरा गरिहरेका थियौं। उहाँलाई फोनमा, म्यासेजमा धेरै धम्कीहरु आइरहेको रहेछ। त्यसपछि के कसो भनेर मैले सोधिन्। म्यासेज हेरेपछि मलाई पनि डर लाग्यो।
हामीसँगै बसेर बहिनीले पुलिसलाई फोन गर्नुभयो। एक–डेढ घण्टापछि पुलिस आयो। बहिनी पहिलेको ठाउँबाट सरिसक्नुभएको थियो। तर पुलिसले त्यहाँ पनि सुरक्षित हुँदैन, अन्त कतै बस्न भन्यो।
त्यो नयाँ ठाउँ पनि पत्ता लगाएर पीडकहरुले ज्यान मार्ने धम्की दिइरहेकाले पुलिसले असुरक्षित भन्दै कोठा सर्न भनेको थियो।
मैले पुलिसमा कुनै सेल्टरको व्यवस्था वा अरु केही सुविधा छैन भनेर सोधें। पुलिसले आफूहरुले सुरक्षा दिन सक्ने, उहाँको कोठामा गएर सामान निकाल्न सहयोग गर्न सक्छौं अनि सरेको ठाउँमा सुरक्षा दिन सक्छौं भने। अरु केही गर्न सक्दैनौं भने।
अदालतमा मुद्दा चलिरहेको थियो। त्यसबारे मलाई त्यति बेला धेरै केही थाहा थिएन। त्यसपछि मैले बहिनीलाई कतै लगेर बस्ने व्यवस्था गरें। त्यहाँ समस्या भयो। समस्या के भने, त्यहाँ कसैको नाम भन्दा बस्ने ठाउँ नदिने, नभन्दा सम्बन्धित ठाउँका मानिसलाई हामीले ढाँट्यौ भन्ने अवस्था आयो।
त्यस दिन बहिनी खाना खाएर सुतिसक्नुभएको थियो। फेरि के समस्या भएर राति ४ बजे बहिनीलाई अर्को एकजना बहिनीको घरमा लगेर छाडें। अनि पुलिसलाई जानकारी गराएँ। बहिनी धेरै असुरक्षित हुनुहुन्छ अझै पनि।
त्यसपछि मैले एनआरएनए क्यानाडाको बोर्डमा सबै कुरा राखें। हामीले सहयोग गर्नुपर्छ भनें। बहिनीलाई मानसिक रुपले दह्रो बनाउनुपर्ने आवश्यकता छ। एकजना २०-२१ वर्षको मान्छेसँग कस्तो घटना भएको छ, तपाईं हामीले कल्पना पनि गर्न सक्दैनौं। उनको मानसिक अवस्था कस्तो होला, के अवस्थाबाट गुज्रिरहेकी होलान् भन्ने हामी सोच्न पनि सक्दैनौं। उ कसैको छोरी, चेली, भतिजी हुन्। हेर्दाखेरी मेरो छोरीकै उमेरजस्तै देखिन्छ। उनलाई सहयोग गर्नुपर्छ। यो हाम्रो समुदायले बुझ्न जरुरी छ।
यसबीचमा मलाई नराम्रो लागेको कुरा…युट्युबर वा टिकटकरहरुले आफ्नो भ्युज बढाउनका लागि बहिनीको संवेदनशीलतालाई नबुझी मनपरी गरिरहेको अवस्था छ। म पनि एक महिला र महिलाहरुको बारेमा काम गरिरहेको हुनाले म यो अवस्था बुझ्छु। यो त बाहिर आएको घटना भयो। बाहिर नआएका यस्ता धेरै घटना छन्।
अहिले उहाँलाई मानसिक रुपले स्वस्थ बनाउनु पहिलो आवश्यकता छ। सामाजिक कार्यकर्तासँग कुरा गरिरहेका छौं। उहाँबाट सहयोग लिँदैछौं। अर्को उहाँलाई बस्न र खानको समस्या छ। कति समस्या छ। हिजो दिनभरि कोठा खोज्यौं तर पाएनौं। एक ठाउँ भेटे पनि कोठा दिइएन। पछि अर्को एक ठाउँ कोठा भेटेका छौं। अब बहिनीलाई त्यहाँ सार्दैछौं।
कोठा खोज्दा नेपाली समुदायको कस्तो प्रतिक्रिया आयो भन्नेबारे म अहिले धेरै कुरा बताउन सक्दिनँ। धेरै नेपाली समुदायका साथीहरुले कोठा दिन मान्नु भएन। अहिले भेटेको ठाउँमा पनि ग्यारेन्टी बस्नुपर्छ भनियो। म आफैं ग्यारेन्टी बसेर राख्ने निधो भएको हो। त्यहाँको भाडा एनआरएनए बोर्डका साथीहरुले जुटाएर तिरिसकेका छौं। दुई चार महिनालाई खानाको पनि व्यवस्था पनि गरेका छौं। जहिलेसम्म उहाँको अवस्था सामान्य हुँदैन हामी सहयोग गर्नेछौं। हामीले आकस्मिक बैठक बसेर सहयोग सम्बन्धी निर्णय नै गरेका छौं।
बहिनीलाई धम्क्याउनेहरु हामीकहाँ आइपुगेका छैनौं। हामीकहाँ त्यसरी सिधै आएका छैनन्। अरु कतिपयलाई पनि धम्की आयो भन्ने सुनेको छु। प्रमाण नभइ हल्लाको कुरामा म केही भन्न सक्दिनँ। मसम्म चाहिँ त्यस्तो केही आएको छैन। म केटी मान्छे, मेरो ज्यान जाला तर म पीडित बहिनीको लागि नडराइ लड्छु।
बहिनीलाई सहयोगको खाँचो छ। अहिले हामीले सामान्य रुपमा बोर्डकै साथीहरुबाट उठाएर सहयोग गरिरहेका छौं। कतै सहयोगको आह्वान गरेका छैनौं। भरसक बाहिर नजाउँ भन्नेछ। तर आवश्यक पर्ने भयो र कसैले सहयोग गर्न चाहन्छु भनेको अवस्थामा हामी माध्यम बन्न सक्छौं। सहयोग आयो भने बहिनीकै लागि खर्च हुनेछ।
यस्तो अकल्पनीय घटना कोहीमाथि नघटोस्। हामी सबैले एकजना छोरीलाई आफ्नै छोरी सम्झिनुपर्छ। आज कसैको छोरी पर्यो होला तर भोलि तपाईं हाम्रो आफ्नै छोरी पर्न सक्छ। कसैको छोरी चोलीमाथि परेको समस्यालाई मजाकका रुपमा नलिऔं।
कसरी सहयोग गर्न सक्छौं भन्ने सोचौं। यस्ता घटना कसरी रोक्न सक्छौं भन्नेतिर लाग्नुपर्छ। क्यानाडामा यस्तो घटना भयो भन्दा नेपाली समुदायबारे कति नराम्रो भयो। अहिलेसम्म नेपालीलाई धेरै विश्वास गर्थे। नेपालीलाई कामदेखि लिएर धेरै कुरामा विश्वास गर्न सकिन्छ भन्ने थियो। अब यो घटनाले कस्तो प्रभाव पर्यो होला?
यदि कतै यस्तै खालको घटना भयो भने नलुकाऔं। बाहिर ल्याऔं। कानुनी कारबाहीमा लग्यौं भने भोलि अरु घटना नहुन सक्ने अवस्था हुन सक्छ। यसबारे हाम्रो समुदायले सोच्नुपर्छ।
***
नेपालबाट भाइबहिनीहरु आइरहेका हुन्छन्। त्यसरी आउनेहरु कतिपय अनुशासित छन्। केही अनुशासित नभएको पनि देखिएको छ। यहाँ आएपछि रोजगारीको खोजीमा लाग्नुपर्छ। यस्तो अवस्थामा कसैले रोजगारीको लोभ देखाएर नकारात्मक दृष्टिले हेर्ने गरेको पनि पाइएको छ। कतिपयले भाइ, दाइ बनाउने अनि सम्पर्कमा आएपछि नराम्रो व्यवहार गर्ने गरेको पनि पाइएको छ। यस्ता केही घटना मसँग पनि आएको छ। त्यस्ता घटनाका पीडक अहिले प्रहरी नियन्त्रणमा पनि छन्।
जागिर लगाइदिन्छु भनेर सँगै लिएर गएर शरीरमा छुने, ह्यारेसमेन्ट गर्ने, मनसिक रुपमा प्रताडना दिने, मैले यसो गरें तिमीले मलाई यसो गर्नुपर्छ भन्ने, राति राति फोन गरेर दुःख दिने जस्ता निकै घटना सुनिन्छ।
यसअघि पनि बलात्कारका घटना भएका छन्। त्यस्ता घटना अदालतमा पनि पुगेका छन्। जेलमा पनि छन् कोही। अहिले म उनीहरुको नाम भन्न सक्दिनँ। मैले एक डेढ वर्षको अवधिमा धेरै यस्ता केस देखेको छु। कसैले इन्सुरेन्स गरिदिने भनेर, पीआर दिलाउन सहयोग गर्छु जस्ता लोभ देखाएर पनि नराम्रो व्यवहार गर्ने देखिएको छ। कतिपयले काममा बोलाएर पैसै नदिने, दिए पनि थोरै दिने गरेको पाइएको छ। यो अवस्था नेपाली समुदायमा मात्र होइन अरु समुदायमा पनि देखिएको छ।
त्यस्ता कतिपय घटनामा पीडित भएकाहरुले आफ्नो इज्जत जाने डरले अनि आफ्ना अभिभावक, आफन्तले थाहा पाउलान् भन्ने भयले बाहिर ल्याउँदैनन्। कतिपयले क्यानाडाबाट डिपोर्ट भइन्छ कि भन्ने त्रासले पनि घटना बाहिर ल्याउँदैनन्।
अहिलेसम्म कसैलाई केही सहयोग चाहिए एनआरएनए खोज्ने चलन छ। सकेको सहयोग गरेको पनि छ। तर यस्तो अवस्थामा यहाँ रहेका अरु कतिपय संस्थाहरुले पनि सहयोग गर्नुपर्छ भन्ने बुझ्नुपर्छ। समुदायमा अरु धेरै संस्थाहरु छन्। उनीहरुले पनि सक्रियता देखाए राम्रो हुन्छ। कतिपय अवस्थामा पीडकहरु प्रहरी नियन्त्रणमा पुग्दा सम्बन्धित परिवारले एनआरएनएले गर्दा यस्तो भयो भन्ने धारणा बनाउने गरेको पनि पाइएको छ। तर यो गलत कुरा हो।
एनआरएनए न कसैलाई थुन्ने निकाय हो, न न्याय दिने निकाय हो। यो एउटा बाटो देखाइदिने संस्था हो। कसैलाई वकिलको आवश्यकता पर्यो भने त्यसका लागि सहयोग गर्ने हो। कसैलाई खान, बस्न समस्या भयो भने सकेको सहयोग गर्ने संस्था हो। सकेको सहयोग गर्न एनआरएन सधैं तयार छ।
म एकजना महिला, लामो समयदेखि सामाजिक क्षेत्रमा पनि काम गरिरहेको छु। म नेपाली विद्यार्थी र नेपाली समुदायलाई खासगरी महिला दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने कोही घरमा पीडित हुनुहुन्छ भने घरमै रोएर नबस्नुहोस्। सहेर नबस्नुहोस्। दबिस्नुहोस्। त्यो कुरा बाहिर ल्याउनुहोस्। तपाईं क्यानाडा आइसक्नु भएको छ।
यहाँको सरकारले सुरक्षा दिन्छ। त्यसकारण सानातिना घटना भए पनि बाहिर ल्याउँदा इज्जत जान्छ कि, परिवारले के भन्ला, परिवार बिग्रेला, श्रीमानसँग अलग हुनुपर्छ कि, बाबुआमाले घरबाट निकालिदिन्छन् कि.. जस्ता कुरा नसोच्नुहोस्।
कोही एकजनाले यस्तो सोचेर बाहिर आउनुभएन भने हजारौं त्यस्ता दिदीबहिनीहरुले दबिएर बस्नुपर्ने अवस्था हुन्छ। हजारौं पीडित हुनुपर्छ। यहाँ आउँदा पढेलेखेकै आउने हुन्। यहाँ आउँदा आफूले केही गरेर खान सकिन्छ। आत्मनिर्भर हुन सकिन्छ।
विशेष गरेर नयाँ आउने बहिनीहरुलाई म के भन्न चाहन्छु भने, कसैले तपाईंलाई कफी दिंदैछ भने झट्ट नपिउनुहोस्। केही स्वार्थ राखेर यस्तो गर्दैछ कि भन्नेतिर पनि सोच्नुहोस्। कुनै सहयोग गर्न खोजिरहेको छ भने सतर्क हुनुहोस्। कसेको नियत ठिक लागेन भने, हेर्ने दृष्टिकोण राम्रो लागेन भने सम्पर्कमा नरहनुहोस्। कुन नजरले हेरेको छ भन्ने केही न केही त बुझिन्छ बुझ्न चाह्यो भने। कसैलाई झट्ट विश्वास नगर्नुहोस्। खराब मनसाय भएको लाग्यो भने वास्ता नगर्नुहोस्। आफ्नो फोन नम्बर नदिनुहोस्।
सामाजिक सञ्जालमा एड नगर्नुहोस्। सम्पर्कमै नरहनुहोस्। कसैको पृष्टभूमि बुझेर धेरै विश्वास भयो भने मात्र सम्पर्कमा रहनुहोस्। त्यसो गर्दा पनि एक हिसाबले शंका गर्न पनि सुरु गर्नुहोस्। कसैप्रति धेरै अन्धभक्त भएर कसैको पनि विश्वास नगर्नुहोस्। कसैको बोलायो भने रुममा गइहाल्ने काम नगर्नुहोस्। फस्न सकिन्छ। सचेत हुनुहोस्। त्यहाँ जाँदा आफू सुरक्षित हुन्छु कि हुन्न भन्नेबारे बुझेर जानुहोस्। जाँदा कोही साथीलाई भनेर जानुहोस्। आफ्नो अभिभावकलाई भनेर जानुहोस्। कोही न कोहीलाई जानकारी गराएर जानुहोस्। तपाईं यसरी सचेत हुनुहोस्।
तपाईं सचेत हुनुभयो भने भोलि अरु साथीहरुलाई सचेत गराउन सक्नुहुन्छ। साथीहरुले अरुलाई सचेत गराउन सक्छन्। एकले थुकी सुकी, सयले थुकी नदी भनिन्छ। त्यसैले सबैले यसमा सचेत हुनुपर्छ।
अर्को कुरा, म अहिले संस्थामा छु। भोलि हुँला नहुँला यो बेग्लै कुरा हो। यदि कसैलाई कुनै अप्ठ्यारो परेको छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। सहयोगका लागि चौबीस घण्टामा कुनै पनि बेला मलाई फोन गर्न सक्नुहुन्छ। म सहयोग गर्न सधैं तयार छु।
अहिले संस्थाबाहेक म व्यक्तिगत रुपमा पनि कुनै पनि बेला, जस्तोसुकै परिस्थितिमा म सहयोग गर्नेछु। गरिरहेको पनि छु। त्यसकारण सानोतिनो घटना भए पनि कसैले नलुकाउनुहोला। अहिले लुकाइयो भने भोलि गएर ठूलो दुर्घटना हुन सक्छ। यसबाट बच्नका लागि हामी सबै दिदीबहिनी सचेत हुन जरूरी छ।
(सरल पत्रिका–नेपाल टच सहकार्य)
