तिहारमा भाइटीका, क्रिसमसमा बलात्कार
मान्छेको नियत खराब भएपछि के हुन्छ, के हुँदैन? यस्तो अवस्थामा ‘सबैभन्दा बुद्धिमान प्राणी’ भनिने मानव दानवका रुपमा प्रस्तुत हुन बेर लाग्दैन। यसका धेरै उदाहरण सुनिन्छन्। यस्तै एउटा घटना भएको छ क्यानाडामा।
उच्च शिक्षा लिन क्यानाडा आएकी एक जना नेपाली युवती नेपाली युवकहरुबाटै बलात्कृत भएकी छन्। अनेक बहाना गरी नजिकिएर, अझ तिहारमा भाइटीका समेत लगाइसकेका युवकहरुले निरीह युवतीमाथि यस्तो ज्यादती गरेका हुन्।
अहिले यो मुद्दा प्रहरीमा छ। प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। तीमध्ये दुईजना तारेखमा छुटेका छन् भने मुख्य आरोपी प्रहरी नियन्त्रणमै छन्। यो प्रक्रिया चलिरहँदा पनि पीडित युवतीलाई तिनका साथी, आफन्त मात्र होइन पविारकै सदस्यले अनेक लोभ देखाएर मुद्दा फिर्ता गर्न दबाब दिने, अस्वीकार गर्दा ज्यानै लिनेसम्मको धम्की दिइरहेका छन्।
खासमा के भएको हो? कसरी घटना भयो? यी सबै विवरण पीडितकै मुखबाट हामीले विस्तृतमा सुनेका छौं। यो कुराकानीको अभिलेख हामीसँग छ।
प्रहरी अनुसन्धानका क्रममा रहेकाले घटनाका कुनै पनि पात्रको नाम हामीले अहिले सार्वजनिक गरेका छैनौं। आवश्यक प्रक्रिया पूरा भएपछि आरोपी (अभियुक्त) हरुको नाम सार्वजनिक हुनेछ।
पृष्टभूमि र घटना अनि त्यसपछिको अवस्थाबारे पीडित यसो भन्छिन्–
म २०२४ मा क्यानाडा आएकी हुँ। सुरुमा एक्लै बसें। आफैं कोठा खोजेर बसें। सबै कुरा राम्रै हुँदै थियो। कलेज जाँदै थिएँ। काम पनि गर्दै थिएँ। सामान्य थियो।
अक्टोबरमा एक दिन राति ९ बजे मलाई एक जना फलाना (नाम) को रिक्वेस्ट आयो। मेरो कलेजकै एकजना साथी म्युचुअल फ्रेन्ड देखेर मैले केही नसोची रिक्वेस्ट एसेप्ट गरें। एसेप्ट गरेको दुई मिनटमा उसले हेलो लेख्यो। मैले हाइ लेखें। घर कहाँ हो जस्ता चिनजानका कुराहरु भए। त्यसपछि म सुतें।
अर्को दिन, म कलेजमा भएको बेला उसको म्यासेज आयो। कहाँ छौ भनेर सोध्यो । मैले कलेजमा छु भनें। मसँग भेट्छौ भन्यो। मैले भेट्दिन, भयो भनें। मेरो इन्टरभ्यु छ, ब्राम्पटन जानु छ भनें।
त्यसपछि उसले तिमीलाई बाटो र अरु कुरा थाहा हुँदैन। म पनि तिमीसँग जान्छु, सहयोग गरिदिन्छु भन्यो। हुन्छ भनें। उ आयो। ब्राम्पटन गयौं। फर्कँदा लगभग राति ८ बसेको थियो होला। उसले मलाई केनेडी स्टेसनसम्म छोडिदिन्छु भयो। सार्वजनिक साधनमै आयौं।
त्यसअघि उसले मेरो घर जाऔं भनेको थियो। धेरै कर गरेको थियो। मैले सुरु दिनमै भेटेको दिन कसैको रुममा जान्नँ भनें। मैले मेरो ब्याग पछाडि भिरेको थिएँ। उसले मेरो ब्यागबाट पासपोर्ट निकालेछ। मलाई थाहा थिएन।
म विदा भएर आफ्नो रुममा आएँ। आएपछि उसले फोन गर्यो। झोलामा हेर त केही कुरा मिसिङ छ कि.. भन्यो। मसँग छ लिन आउ भन्यो। मलाई भिडियोमै देखायो।
मैले मेरो पासपोर्ट किन, कसरी लैजानुभयो भनेर सोधें।
त्यसपछि पासपोर्ट लिन आउँछौ भने आउ नत्र म पानीमा भिजाइदिन्छु भन्यो।
अनि म मेन स्ट्रीट स्टेसनमा ल्याइदिनु, म त्यहाँ आएर लिन्छु भनें।
गएँ। त्यहाँ भेट भयो। राति करिब १० बजेको थियो होला।
मैले पासपोर्ट मागें।
उसले भन्यो, मैले बिर्सें पासपोर्ट ल्याउन। हिंड घर भन्यो। घरको बाहिर बस, पासपोर्ट ल्याइदिन्छु भन्यो।
यहाँसम्म आइपुगें अब पासपोर्ट लिएरै जान्छु भनेर म गएँ। उसको घरमा पुग्यौं। म बाहिर बस्छु, तपाईं मेरो पासपोर्ट ल्याइदिनुस् भनेर धेरै रिक्वेस्ट गरें। मानेन। उसले मलाई उठाएर त्यहाँबाट भित्र लग्यो। त्यहाँको सिसीटिभी फुटेज हेरियोस्।
मलाई त्यसपछि निस्कन दिएन। त्यस दिन मलाई केही नराम्रो व्यवहार गरेन। उ एकातिर बस्यो। म एकातिर बसें। म रोइरहेकी थिएँ। उसले मलाई नरोऊ, म केही गर्दिनँ। रातिको बेला छ, अहिले नजाऊ भन्यो। त्यसो गर्दागर्दै त्यो रात बित्यो।
भोलिपल्ट म आफ्नो पासपोर्ट लिएर रुममा आएँ।
त्यसपछि उसँग मेरो लगभग एक महिना म्यासेजमा कुरा भयो। अनि तिहारको लक्ष्मीपूजाको दिन उसले मलाई बोलायो। उसले यहाँ भएका साथीहरुसँग भेटाउँछु भन्यो। गएँ। सबैसँग चिनायो। उसहित ६ जना थिए। सबैलाई मैले दाइ भनेर आदर गरें। त्यहाँ अरु दुई जना (नाम) पनि थिए। उनीहरु लाई तिहारमा मैले टीका लगाइदिन निधो गरें। सल्लाह गरेर भोलि टीका लगाउने भनेर टुंगो गर्यौं। उनीहरुले तिम्रो पनि यहाँ दाइ हुनुहुन्न, हाम्रो पनि बहिनी छैनन् भने। टीका लगाउने निर्णय भयो।
त्यो दिन लक्ष्मी पूजा गरियो। अनि म फर्किएँ।
अर्को दिन म टीका लगाउन गएँ। टीका लगाइयो। बस्यौं केही समय। उनीहरुका आफन्तहरु पनि आएका थिए। सबै मिलेर टीका लगाइयो।
त्यसपछि पनि उसँग मेरो म्यासेजमा कुरा भयो। भेट भएन। अनि क्रिसमसको दिन उसले मलाई कफी खान आउँछौ मेरो घर? उनीहरु (मैले तिहारमा टीका लगाइदिएका दुईजना) पनि यहीँ छन् भन्यो। उनीहरुले पनि भेट्न खोजेका छन् भन्यो। धेरै भयो नभेटेको भनेर बोलायो।
मैले तिहारमा टीका लगाइदिएका मेरा दाइहरु हुन्, धेरै भयो भेट नभएको भन्ने लागेर म अरु केही नसोची पुगें।
पुगेपछि मैले ढोका ढक्ढक्याएँ। उ तल लिन आयो। उसले मलाई हातमा समातेर लग्यो। भित्र लगेपछि देखें त्यहाँ कोही थिएन। यो बिहान ११ बजेको कुरा हो। उसले ढोका लक गर्यो। त्यसपछि मलाई केही याद छैन… त्यसपछिको सात घण्टा…
सात घण्टापछि म होस्मा आएँछु। आँखा खोल्दा मेरो शरीरमा केही थिएन। उनीहरु तीन जना (नाम) वरिपरि थिए। उनीहरुको शरीरमा पनि केही थिएन।
एक्कासि मेरो आँखाबाट आँशु निस्कियो। न म बोल्न सकें। न मेरा हातखुट्टा, शरीर चल्यो। के भयो, म कहाँ छु… भनेर चकित भएँ।
उनीहरुमध्ये फलाना (नाम) ले छेउमा बसेर भिडियो बनाएछ। सबै मिलेर भिडियो बनाएछन्।
हेर् तेरो भिडियो बनाएका छौं, अब भाइरल बनाइदिन्छौं जताततै भनेर उनीहरुले भने।
त्यसपछि मात्र मसँग के भएछ भन्ने थाहा पाएँ। उनीहरुले मलाई त्यसो गरेछन् भन्ने थाहा पाएँ।
त्यहाँ बाहिर एक जना अर्को केटा थियो। मैले दाइ मलाई ९११ मा फोन गर्न हेल्प गरिदिनु हुन्छ? भनें ।
उसले भन्यो, नाइँ गर्दिनँ। तँ जे गरे गर, तँ आफैं आएर सुतिस्। अहिले ९११ मा फोन गर्छेस् भन्दै सहयोग गरेन।
त्यसपछि बल्ल बल्ल मैले नै ९११ मा फोन गरें।
उनीहरुले मलाई फोन काट्ने भए काट् नत्र म ब्लेडले तेरो घाँटी चिरिदिन्छौं भने। यो कुरा फोनमा पुलिसले पनि सुनेको थियो।
उनीहरुले तँ छिटो कपडा लगाएर तल जा भने। तल पुलिस आइसकेको छ भने। म तल जाँदा पुलिसहरु आएका थिए।
कल गरेको एक मिनटमा पुलिस आयो। पुलिसले मुख्य मान्छे को हो भनेर सोध्यो। मुख्य मान्छे (नाम) लाई संकेत गरें। पहिला उसलाई एरेस्ट गर्यो अनि अरु दुई जनालाई पनि एरेस्ट गर्यो।
मलाई एम्बुलेन्समा अस्पताल लगियो। मेरो मेडिकल जाँच भयो। त्यहाँ सबै परीक्षणहरु गर्दा करिब सात–आठ घण्टा बित्यो। त्यसपछि पुलिसले नै मलाई स्टेशनमा लिएर गए। मेरो बयान लिइयो। त्यसपछि एक्लै जान नमिल्ने भनेर मलाई पुलिसले नै मलाई बिहान साढे ४ बजेतिर रुममा छोडिढदिए। त्यो दिन सुत्न र अरु केही गर्न पनि सकिनँ।
अर्को दिन खै कहाँबाट पीडकमध्ये फलाना (नाम) की आफ्नै दिदीले नेपालको सुदूरपश्चिमबाट कल गरिन्।
उनले सुरुमै भनिन्, ‘केस किन गरिस्?’
मैले भनें, ‘मलाई यस्तो यस्तो भएको थियो दिदी, यस्तो भाइ पाउनुभएछ, धेरै गलत कामहरु गरे मसँग।’
अनि उनले भनिन्, ‘म तेरो नाम (उनको भाइ) सँग बिहे गरिदिन्छु, केस विड्र गर।’
मैले केस विड्र गर्दिनँ, चाहे जेसुकै गर, मलाई मारे पनि मार भनें।
त्यसपछि उनले तँ केस विड्र गर्दिनस् भने क्यानाडाका संघसंस्थाहरू, ठूलाठूला वकिलहरुसँग मेरो कनेक्सन छ, उनीहरुलाई भनेर मेरो भाइ निकालेरै छोड्छु भनिन्।
धेरै धम्की दिए त्यो दिन। परिवारले नै पटक पटक धम्की दिए। यातना दिए।
मैले कल रेकर्ड गरेको थिएँ। अनि मैले पुलिसलाई त्यही दिन लगेर त्यो सबै कुराकानीको रेकर्ड दिएँ। मलाई धेरै धम्कीहरु आयो भन्ने जानकारी पनि दिएँ।
त्यसपछि एक हप्ता कसैले सम्पर्क गरेन। सामान्य नै थियो।
अनि एक दिन एक जना पीडक (नाम) को श्रीमतीले फोन गरिन्। कसले नम्बर दियो थाहा भएन।
उनले फोनमा भनिन्, ‘मेरो बुढा यति सोझो थियो, मेरो बुढालाई किन फसाइस्?’
मैले तपाईंको बुढा सोझो होइन दिदी, यस्तोसम्म ब्यवहार गरेको थियो भनें।
अनि उनले भनिन्, ‘सुतिस् त सुतिस् किन गएर दुनियाँलाई भन्नुपर्यो, किन पुलिस रिपोर्ट गर्नुपर्यो? सुत्यो त सुत्यो मजा लियो होला अलिकति, चाहिन्छ किनकि म पनि टाढा छु मेरो बुढाबाट।’
त्यसपछि म केही बोल्न सकिनँ। मलाई केही बोल्ने आँट पनि आएन।
अनि उनले आफ्नो ससुरा (पीडक फलानाको बुबा) लाई कलमा एड गरिन्।
उनले पनि उही कुरा गरे। भने, ‘प्रुफ बिना मेरो छोरा फसाइस्, केस यहीँ टुंग्याइदे। सुत्यो त सुत्यो, जे भयो भयो। बरु तँलाई पैसा दिन्छौं। बरु फलाना (मुख्य पीडकको नाम) नै बिहे गराइदिन सक्दो प्रयास गर्छौं।’
बाउ यस्ता पनि हुँदा रहेछन्। मैले यो कुराकानी पनि पुलिसमा जानकारी गराएँ। उनीहरुबारे पनि प्रहरीमा रिपोर्ट गरें।
यी दुईजनाको परिवारले अहिलेसम्म पनि मलाई टर्चर गरिरहेका छन्। पीडकमध्ये तेस्रो व्यक्तिको चाहिँ कसैले फोन गर्ने र अरु केही गर्ने गरेको छैन।
***
घटना डिसेम्बर २५ मा भएको हो।
***
मैले मेरो परिवारलाई भनेको छैन। केही नजिकका मान्छे अनि साथीहरुलाई थाहा छ। पुलिसलाई थाहा छ।
म एक दिन टिकटकमा लाइभ बसिरहेकी थिएँ। अरु बेला पनि बस्ने गर्थें। एक दिन धेरै फलोअर भएका फलाना (नाम) दाइले मेरो लाइभमा आउनुभयो। त्यस बेला केही केटाहरुले यही विषयमा नकारात्मक कुरा गरे। छाडा बोले।
दाइले त्यो थाहा पाउनुभयो अनि मैले टिकटकमा गेस्टमा लिएँ। त्यसपछि उहाँले नानी तिमीलाई किन उनीहरुले यस्तो कुरा गरिरहेका छन्, केही न केही छ यहाँ भन्नुभयो।
अनि मेरो मनमा गुम्सिएको कुरा कसलाई भनौं भन्ने भइरहेका बेला उहाँलाई भनें। त्यसपछि यो कुरा बाहिर आएको हो।
घटनाबारे मैले मेरो कलेजमा पनि जानकारी दिएँ। कलेजले ब्रेक लिन भन्यो। मानसिक अवस्था सहज हुँदैन यस्तो अवस्थामा । अध्ययनका लागि असहज हुन सक्छ। एक दुई महिना ब्रेक लिएपछि अनि सल्लाह गरौंला भनिएको छ।
घटना स्कारब्रोमा भएको हो। दुई जना केटी साथीहरुसँग बस्थें। उनीहरु पनि यो केसमा संलग्न भएको पछि थाहा पाएँ। पीडकहरु मध्ये एकका आफ्नो मान्छे पर्दारहेछन्। यो थाहा पाएपछि पुलिसले मलाई त्यहाँ बस्नु हुँदैन भन्यो। कम्फोर्टेबल हुने ठाउँमा सर भनेकाले सरेको हुँ।
त्यसपछि सरेको ठाउँबारे पनि पीडकहरुले थाहा पाइसकेका छन्। ठेगानासहित लेखेर उनीहरुले बारम्बार धम्क्याइरहेका छन्। ठाउँ थाहा छ, जहाँ भेट्यो त्यहीँ मार्छौं भनिरहेका छन्। म्यासेज फेक आइडीबाट आइरहेको छ तर ती पीडकहरु सबैको नाम उल्लेख गरेर आइरहेको छ। उनीहरुकै मान्छेले पठाएको भन्नेमा म कन्फर्म छु।
***
अहिले मेरो समस्या भनेको मानसिक रुपमा धेरै डिस्टर्ब छु। आर्थिक हिसाबले पनि अलि समस्या नै छ।
यो घटनाबारे परिवारमा थाहा रहेछ। सुन्नुभएको रहेछ। तर यसमा म पीडित भएको भन्नेचाहिँ उहाँहरुलाई थाहा रहेनछ। ‘नानी क्यानाडामा यस्तो घटना भएको रहेछ। सुरक्षित रहनुपर्छ’ भन्ने कुरा सुनाउनु हुन्छ।’
***
आइतबार एउटा म्यासेज आयो–
आइ एम सेइङ जस्ट डिसमिस द केस हेयर, अदरवाइज आइ एम गोन्ना किल यु। कमिङ टु युअर एड्रेस। आइ अल्सो नो युअर एड्रेस। इट्स (ठेगाना) रोड, इजन्ट इट? आइ एम फलोइङ यु सिन्स वन विक। जस्ट डिमिस द केस।’
मैले जवाफ फर्काएँ–
ओके कम एन्ड किल मी। बट आइ विल नेभर विड्र द केस, माइन्ड इट।’
उताबाट फेरि म्यासेज आयो–
ह्वाइ आर यु विइङ सो क्रेजी। यु नो हाउ इनोसेन्ट इज फलाना, यु नो हाउ इनोसेन्ट इज फलाना… (दुई जनाको नाम)। सेक्स गरेको भए पनि भित्रभित्र गरिस् त सकियो त कुरा किन ठूलो गराएको छस्? ह्वाट इफ फलाना… (एक जनाको नाम) हिज वाइफ ट्राइ फर सुसाइड एटेम्प्ट? जस्ट डिसमिस द केस अर हाइ विल किल यु इमिडिएट्ली। आइ एम ट्रयाकिङ योर लोकेसन राइट नाउ।
अर्को म्यासेज शनिवार टिकटकमा आयो
कसैले उताबाट हेल्लो भन्यो । मैले हजुर भनें ।
अनि उताबाट सुत्न सँगै सुतेर अनि केस गरिस् होइन? तँलाई जहाँ भेट्यो त्यहीँ आएर मारिदिन्छु म भन्यो।
अनि मैले भनें, को हो, प्लीज मलाई मेन्टल प्रेसर भएको छ। लिभ मी एलोन प्लीज।
उताबाट फेरि म्यासेज–
केस किन गरिस्? अब फलानाहरु…(नाम) जीवन गयो, त्यसलाई फिर्ता कसरी ल्याउने? तेरो घरमा सबैको नम्बर छ मसँग। अब सबैलाई भनिदिन्छु म कल गरेर। रुक् न तँलाई छोड्नेवाला छैन म। कुरा जे भएको छ, सबै लुकाएर राख्न सक्दैनस्? दुनियाँलाई भन्दै हिंड्नुपर्छ? तँलाई म छोड्नेवाला छैन हेर केटी। तेरो घरमा पनि भनिदिन्छु अब सबै, रुक्। सोच्न सकिनस् अलिकति फलाना.. (नाम) जस्तो सोझोलाई फसाइस्। उसको वाइफ सुसाइड गर्छ अब। तँलाई….(अश्लील शब्द)। सुत्ने बेला सुतिस्, अहिले चाहिँ आफू राम्रो बनेको छस्। त्यो टिकटकमा आएको, सबैजनाले बनाएको भिडियोहरु डिलिट गर्न लगाइदे हेर नत्र त्यहीँ आएर मारिदिन्छु तँलाई। सेभ छैन हेर, जहाँ भेट्यो त्यहीँ आएर मारिदिन्छु।
त्यसपछि टिकटकमा फेक आइडीबाट कसैले भिडियो हालेको रहेछ। त्यसमा न्युज अफ क्यानाडा भन्दै भनिएको छ, ‘केटी आफैं आएर सुतेको कुरालाई जस्टिस् दे भन्दै लाग्ने तिमीहरु कतिसम्म नालायक हौ? थोरै पनि लाज लाग्दैन? एउटा यस्तो वेश्या केटीको सपोर्ट गरेको छ। थुक्क लाज लाग्दैन?
फेरि फेक आइडीबाटै म्यासेज आयो–
लाज लाग्दैन? आफैं गएर सुतेको छ। आफैं रेप भयो भन्छस्। तेरो घरमा तेरो आमाबाबुलाई भनेर मर्न बाध्य गराइदिउँ? तँलाई थोरै पनि लाज लाग्दैन? तेरो मेन्टल दिमाग ठिक छैन। आफैं गएर सुतिस्, मजा लिइस् सकियो त किन भाइरल बन्न खोज्दैछस्?
मैले भने–
तपाईं को हो, म चिन्दिन। सरी।
अनि उताबाट फेरि भन्यो–
भिडियो हटाउँछस् कि म तेरो मसँग भएको भिडियो सबै भाइरल गरिदिउँ?
यो पछिल्लो म्यासेज चाहिँ मलाई ती तीन जनामध्ये कोही एकजनाले पठाएको हुनुपर्छ।
त्यसपछि एकजना मेरो दाइ फलाना (नाम) लाई म्यासेज आएको रहेछ। त्यसमा भनिएको छ–
त्रुथ नबुझी नबोल दाजु। त्यो केटी आफैं गएर सुती अनि रेप गर्यो भनी। पैसा दिन्छु ५ हजार डलर। त्यो केटीलाई नै फसाइदिऔं। प्लीज ब्रदर भिडियो डिलिट गरिदेऊ, नत्र म त्यो केटीलाई जहाँ भेट्यो त्यहीँ मार्दिन्छु। भिडियो डिलिट गर अनि पैसामा मिलेर अनि त्यही केटीलाई फसाउन हेल्प गर मलाई प्लीज। नत्र त्यो केटीलाई म ठाउँको ठाउँ गएर मार्दिन्छु। त्यसको एड्रेस कहाँ हो भन्ने पनि मैले थाहा पाइसकेँ। म घरमै गएर मार्दिन्छु।
फेरि उही दाइलाई नै अर्को म्यासेज आएको छ। यस्तो–
हेल्लो.. भिडियो डिलिट गर्छस् कि नाइँ? त्यो केटी त्यस्तै हो। दुईतर्फी कुरा सुन्।
दाइले भन्नु भएछ–
म अब तिमीहरुको फोटो सार्वजनिक गरिदिन्छु। धेरै सतायौ तिमीहरुले।
फेरि उताबाट भनेछन्–
उसको मात्र कुरा सुन्या छस्। म त्यो केटीलाई मार्दिन्छु। उसको ज्यान प्यारो छ भने भिडियो डिलिट गर। त्यो केटीलाई नै फसाउन हेल्प गर्।
***
अहिले दुईजना बेलमा निस्केका छन्। करिब दुई हप्तापछि निस्किए।
निस्किएपछि मलाई प्रत्यक्ष रुपमा धम्क्याउने गरेका छन्। म्यासेजहरु पठाउँछन्।
अब प्रहरीमा खबर गर्छु। यातना दिने काम भइरहेको छ।
घटनामा संलग्न मुख्य मान्छेको लागि साक्षी बस्ने मान्छे चाहिने रहेछ। तर कोही छैन।
फेब्रुवरी ११ मा एकजनाको तारिख रहेछ। त्यसमा उपस्थित हुन्छन् होला।
ट्रायल भन्ने हुँदो रहेछ। त्यसमा म पनि र उनीहरु पनि जानुपर्ने हुन्छ। त्यसमा उनीहरुले दोषी हो भनेर स्वीकारेको अवस्थामा कि नेपाल डिपोर्ट हुन्छ वा यहीँ जेल सजाय हुन्छ भनेर वकिलहरुले भनेका छन्।
होइन उनीहरुले आफू निर्दोष हो भन्ने दाबी गरिरहे भने थप अनुसन्धान र अदालती प्रक्रिया चल्ने जानकारी भएको छ।
मेरो तर्फबाट वकिलहरु र सामाजिक कार्यकर्ताहरुले काम गरिरहनु भएको छ।
मेरो माग छ– पीडकहरुलाई जेल सजाय होस्।
यदि पैसाको चलखेल भयो वा उनीहरुलाई सजाय नहुने भयो भने म अदालतमै गएर आत्महत्या गर्नेछु भनिसकेको छ । तर यस्तो अवस्था नआओस् भन्ने मेरो इच्छा हो।
-एनआरएनए क्यानाडाकी महासचिव चन्दा अधिकारीको सहयोगमा बेनुप भट्टराई | जयराम गौतम (क्यानाडा) र माधव घिमिरे (नेपाल) को प्रस्तुति
(सरल पत्रिका / नेपाल टच सहकार्य)
