बलात्कारपछि किशोरीको हत्या गर्ने ५ जनालाई मृत्युदण्ड
काठमाडौं। भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कारपछि बीभत्स हत्या गरेको साथै पीडितका बुबा र भतिजीको हत्या गरेको अभियोगमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
सन् २०२१ को जनवरीमा उनीहरुले परिवारसहित सार्वजनिक यातायात पर्खेर बसिरहेका बेला किशोरीलाई मोटरसाइकलमा ‘लिफ्ट’ दिएर एकान्तमा लगी सामूहिक बलात्कार गरेका थिए।
परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरिएको थियो। सरकारी वकिल सुनिलकुमार मिश्रले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनकी ३ वर्षीया भतिजीको हत्या गरेका थिए।
पीडित किशोरीलाई गाउँलेले अचेत अवस्थामा फेला पारेका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। बलात्कार प्रकरण र ३ जनाको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बताए।
छैटौँ व्यक्तिलाई अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरिए पनि बलात्कारमा संलग्नता प्रमाणित नभएपछि हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको उनले बताए ।
