सबै खाले व्यवसाय र उद्योगलाई अब एकै ठाउँबाट सेवा
विराटनगर । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेश सोलुशन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. तथा डाइनो टेक प्रा.लि. बीच दुई बेग्लाबेग्लै सम्झौता भएको हो ।
उपाय बिजनेश सोलुशन बीचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र उपाय बिजनेश सोलुशनका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस्तै, डाइनो टेक प्रा.लि. सँगको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र डाइनो टेक प्रा.लि. का अध्यक्ष प्रदिप सिग्देलले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रम अघि बिडिएसबारे विभिन्न वक्ताले चर्चा गरेका थिए । त्यस क्रममा महासंघ कोशीका अध्यक्ष राउतले नेपालको आर्थिक विकासका लागि कोशी प्रदेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसाय विकास सेवा शुभारम्भ भएकामा खुसी व्यक्त गरे । कोशी प्रदेशमा सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै अध्यक्ष राउतले व्यवसाय विकास सेवाबाट थप लाभ प्राप्त हुने उल्लेख गरे ।
कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको तथ्यांक राउतले प्रस्तुत गरे । उक्त तथ्यांक औपचारिक रुपमा सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठानहरुको भएको उल्लेख गर्दै राउतले अनौपचारिक रुपमा यस्ता धेरै उद्योगहरु सञ्चालनमा रहेको बताए ।

त्यसरी अनौपचारिक रुपमा सञ्चालन व्यवसाय र उद्योग प्रतिष्ठानलाई औपचारिक रुपमा सञ्चालनमा ल्याउन चुनौती भएको सन्दर्भमा व्यवसाय विकास सेवाले महत्वपूर्ण सहयोग पुर्याउने अध्यक्ष राउतको भनाइ छ ।
ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगहरु, उद्योग स्थापनादेखि सञ्चालित र व्यवस्थापनसम्म कामका लागि तहगत सरकारका आवश्यक प्रक्रियाहरु गर्न अनेक कारणले कठिनाइ भइरहेको उनले बताए । यस्तो अवस्थामा सहजीकरण गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
त्यसै कुरालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उपाय र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडको सहकार्यमा कानुनीदेखि व्यवसाय सुधार, बजार पहुँच र प्रतिस्पर्धात्मक क्षमता बढाउने जस्ता सेवाहरु पूर्वमै पहिलो पटक व्यवसाय विकास सेवा (बिडिएस) दिन लागिएको अध्यक्ष राउतले बताए ।
कार्यक्रममा अध्यान्त संस्थाका प्रतिनिधि निश्चलसिंह भण्डारीले दुई वर्षदेखि उद्योग वाणिज्य महासंघ कोशीसँग सहकार्य गरिरहेको उल्लेख गर्दै अबका दिनमा बिडिएस मार्फत् सेवा केन्द्रहरु स्थापना गरी काम गर्दा अझ सहज हुने आशा व्यक्त गरे ।
व्यवसाय सञ्चालन, ऋण लिनेदेखि लिएर अन्य प्रक्रियाहरुमा उद्योग तथा व्यवसायलाई सहयोग पुर्याउन कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी तीन वर्षमा यस्तो सेवा मार्फत एक हजारभन्दा बढी व्यवसायीलाई सघाउन सकिने जानकारी उनले दिए ।
उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले व्यहोर्नु परेका समस्या समाधान गर्नका लागि बिडिएस सुरु हुन लागेको बताउँदै यसबाट धेरैभन्दा धेरै उद्योगीहरुले लाभ लिन सकिने उल्लेख गरे । समस्या समाधानका साथै भरपर्दो बजारका लागि पनि कार्यक्रम सहयोगी सिद्ध हुने उनको भनाइ थियो ।
सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालको विकास गर्न साना तथा मझौला उद्योगहरुको संरक्षण र विकासमा जोड दिनुपर्ने बताइन्। त्यसो गर्नका लागि बिडिएस कार्यक्रम प्रभावकारी हुने उनले उल्लेख गरिन् ।
साना उद्योग दर्ता, नवीकरण, सञ्चालनदेखि अन्य प्रक्रियाहरुमा झेल्नुपर्ने समस्याबाट मुक्ति पाउन यो कार्यक्रम निकै उपयोगी रहेको श्रेष्ठले बताइन् । यसैगरी, उद्योगहरुको क्षमता अभिवृद्धि गर्न पनि मद्दत पुग्ने उनले उल्लेख गरिन् ।
उपाय परियोजनाकी सिईओ शोभा श्रेष्ठले व्यावसायिक व्यक्ति, साना र मझौला उद्योगहरु एवं व्यापार संगठनहरुका आवश्यकताहरु सम्बोधन गर्न बिडिएस कार्यक्रम प्रभावकारी रहेको बताइन् ।
कानुन, लेखा, कर, विज्ञापन जस्ता पक्षमा उद्योग व्यवसायहरु र तिनका सञ्चालकलाई सहजीकरण गर्ने उद्देश्यले यो नयाँ कार्यक्रम आएको उनले उल्लेख गरिन् ।
यसैगरी, डायनो टेक ग्लोबल प्रालिका प्रदीप सिग्देलले कुनै पनि व्यवसायमा प्रविधिको धेरै महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै यसका लागि व्यवसाय विस्तार र विकासमा बिडिएसले सहयोग पुग्ने बताए ।
उपभोक्तासम्म पुग्नका लागि सूचना प्रविधि निकै महत्वपूर्ण हुने भएकाले बेवसाइट, विशेष किसिमका एप्लिकेसन्सहरु प्रयोग गर्न सकिने उनले बताए । व्यवसायलाई मिल्दो सफ्टवेयरहरु विकास गरेर त्यसलाई कार्यान्वयन गर्न सके फाइदा हुने सिग्देलले उल्लेख गरे । एकै स्थानबाट धेरै प्रकारका सेवा लिन सकिने बिडिएस सबै खालका उद्योग व्यवसायका लागि फाइदाजनक रहेको उनको भनाइ थियो ।
महासंघ कोशीका सदस्य वीरेन्द्र शाहले बिडिएस कार्यक्रमका लागि महत्वपूर्ण संस्थाहरुसँग जोडिएर काम गर्न पाउँदा उत्साहित रहेको सुनाए । यसलाई सफल बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका हुने उनले उल्लेख गरे । महासंघका पदाधिकारी, महासंघको विभिन्न शाखाका प्रतिनिधि, सरोकाकारवाला संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीहरु सहभागी भएको कार्यक्रममा ती सम्झौता पत्रहरुमा हस्ताक्षर भएको महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
