विशाल आकाश सँगको साथ…

देख्छु
यो
भीड धर्तीबाट थोरै
पैताला बिसाएर
रातको चिसो छिँडीबाट
त्यो शून्य
आकाश कतै हलहल
नगरी मलाई नै
निहालिरहे जस्तो…
फिक्का सङ्ग्लो
त्यो गगन
कहीँ जुनको राग
र वरिपरिका
ताराहरु
खेलिरहेको
सजावट
कति मनमोहक छ
छुँदै छु टाढाबाट मनले सही
यो शीतल
रातमा…
उड्दै छन्
सेता बादलका
लस्काहरु
तिम्रो कालो केशलाई
रंग बदल्न
तिम्रो चमक छेल्न
पन्छाउन खोज्दो रहेछ
चलाउँदै औँलाहरु
हावासँग खेलेका
बादलका लट्टाहरु
नियाल्दै सिङ्गो
सगर…
यो धर्तीको एक कुनाले
सम्झनाभरि छरिएको
त्यो विशाल आकाशको
रुप नियाल्न पाएको छ
नबिते हुन्थ्यो
बिना आवाज
यो पवनभरि
बतासको रात
विशाल आकाश सँगको साथ…
एकपटक भेटाइदेऊ
त्यो आकाश
बन्नेछु बरु
यो मध्य रातकी जुन किन र?
बरु प्रभाती पस्किने
बेलाको झर्ने
त्यो ताराको झुल्कोसँगै
त्यो सगरमा
दीप बनी हेर्नेछु
मिर्मिरेको झुल्कोमा
फेरि जमिनमै त गिर्ने छु…!