‘चिसोमा इन्फ्लुएन्जाबाट बच्न सतर्कता अपनाऔं’

काठमाडौं । जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु) को समस्या बढ्न थालेको छ । इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने यो संक्रामक रोग जाडो महिनामा बढी लाग्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत गरी सबै उमेरका व्यक्तिहरुलाई लाग्न सक्ने जनाइएको छ ।
फ्लु भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ ।
ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फुलू लाग्न सक्छ ।
फ्लू लाग्यो भने ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने र सिँगान बग्ने, जिउ र मांशपेशी दुख्ने अनि थकान महसुस हुने लक्षणहरु देखिन्छ ।
कतिपय फ्लु भएका व्यक्तिलाई ज्वरा नआउन पनि सक्ने विज्ञहरुको भनाइ छ ।
फ्लूूबाट बच्न विभिन्न उपायहरु अपनाउन सकिने जनाइएको छ । बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थका साथै पौष्टिक खाना खाने गर्नुपर्छ ।
यसैगरी सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, बेला बेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने जस्ता सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको भनाइ छ ।
फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन ।
दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई भने फ्लूले धेरै असर गर्ने हुन्छ ।
त्यस्ता व्यक्तिहरुले भने स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा बस्नुपर्ने जनाइएको छ । फ्लुबाट बच्न अपनाउनुपर्ने सावधानीसहितको सन्देश युनिसेफ नेपालले विभिन्न माध्यमबाट सर्वसाधारणसमक्ष पुर्याइरहेको जनाएको छ ।