विपन्न बिरामीको निःशुल्क उपचार गर्न सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत गरिब बिरामीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।

सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिइएको हो ।

मन्त्रालयका तर्फबाट उपसचिव एकदेव खनालले संस्थाहरुलाई उक्त निर्देशन दिएका हुन् ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० को ‘घ’ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयको टोलीले गरेको अनुगमनमा धेरै अस्पतालले कूल शैय्याको १० प्रतिशत नछुट्याएको पाइएको थियो ।

अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब नदिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ ।

मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले गाडी पार्किङको शुल्क उठाएको पाइएको भन्दै पार्किङ शुल्क नउठाउन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाही गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *