एक हजारभन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि

काठमाडौं । दादुराबाट १६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका संक्रमित भएका छन् ।

स्वास्थ्य विभागका अनुसार काठमाडौं, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण पुष्टि भएको हो ।

ती जिल्लामध्ये बाँके, कैलाली, सुनसरी र महोत्तरीमा जोखिम धेरै रहेको परिवार विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताएका छन् ।

प्रकोप धेरै देखिएका चार जिल्लामा दादुरा विरुद्धको खोप लगाउन छुटेका २ लाख १५ हजारभन्दा धेरै बालबालिकालाई खोप दिइएको विभागले जनाएको छ ।

हाल खोप अभियान चलिरहेको ९ जिल्ला मोरङ, सुनसरी, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा पनि खोप लगाउन छुटेका बालबालिकाको खोजी भइरहेको जनाइएको छ ।

यी जिल्लाका १६ लाख ८० हजार भन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको महाशाखाले जनाएको छ ।

नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । त्यसयता पनि यसको प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *