कुम र पाता दुख्दा कसो गर्ने ? यस्तो छ फिजियोथेरापिष्टको सल्लाह

मानव स्वास्थ्यमा देखिने अनेक समस्यामध्ये कुम र पातासम्बन्धी समस्याले पनि पिरोल्ने गरेको छ। यसबाट बच्न के सावधानी अपनाउने, औषधि उपचारको विधि के हो भन्नेबारे सही जानकारी नहुँदा धेरैले दुःख पाउने गरेका छन्। त्यसैले यो लेखमार्फत् अनुभवी फिजियोथेरापिस्कोटको सुझाव र सल्लाह प्रस्तुत गरेका छौं।

समस्याका पाटा केलाउँदै उपचारका लागि उनले यसरी सुझाएका छन्-

क्यानाडामा पाँच र त्यसअघि नेपालमा सात वर्ष फिजियोथेरापिष्टको क्लिनिकल अनुभवका आधारमा हाडजोर्नी, नसा र मांसपेसीसम्बन्धी समस्या हुने बिरामीहरुको संख्या उल्लेख्य रुपमा भेटेको छु।

यी समस्यामध्ये हातको श्रम गर्नुपर्ने वा एकै प्रकारको काम निरन्तर दोहोर्याएर गर्नुपर्ने व्यक्तिहरुलाई कुम र पाताको समस्या धेरै भएको पाइन्छ। यस लेखमा यसका प्रकारहरु, कारणहरु, रोकथाम र फिजियोथेरापी उपचारबारे जानकारी दिने प्रयास गरिएको छ।

यसमा उल्लेख गरिएका कुराबाट कुम र पाताको समस्याबाट प्रभावितहरुले सही जानकारी पाउने र बेलैमा समस्याको पहिचान, रोकथाम र उपचार गर्न सहयोग पुग्ने विश्वास छ।

अन्य स्वास्थ्य समस्याहरु जस्तै कुम र पाताको समस्या सुरु हुनु अगावै रोकथाम र भइसकेको अवस्थामा यथाशीघ्र उपचार पाउन सके समस्याले दीर्घकालीनमा रुपमा पार्न सक्ने शारीरिक जटिलता, मानसिक तनाव र आर्थिक भारबाट जोगिन सकिन्छ।

दुखाईका कारण  र प्रकार

कुम र पाताको दुखाईका प्रमुख कारणहरुमा चोटपटक, मांसपेसीको कमजोरी वा कडापन, आसनमा विचलन, नशाको समस्या आदि पर्छन्। निम्न अवस्थामा कुम र पातो दुख्छ:

  • सुन्निनेः मांसपेसीलाई हड्डीसँग जोड्ने तन्तु र मांसपेसी र हड्डीबीचको घर्षण कम गर्ने थैली सुन्निने अवस्था।
  • च्यातिनेः मांसपेसीलाई हड्डीसँग जोड्ने तन्तु, हड्डीलाई हड्डीसँग जोड्ने तन्तु  र मांसपेसी च्यातिने समस्या आदि।
  • खिइनेः कुमको जोर्नी खिइने र ‘सौन्दर्य हड्डी’ ले छातीको हड्डी र पाताको  हड्डीसँग बनाउने जोर्नी खिइने समस्या।
  • च्यापिनेः हात कुमभन्दा माथि उठाउँदा मांसपेसी, मांसपेसीलाई हड्डीसँग जोड्ने तन्तु र हड्डीबीचको घर्षण कम गर्ने थैली पाखुरा र पाताको हड्डीकोबीचमा च्यापिने अवस्था।

आवश्यकताभन्दा कम वा बढी चल्ने मांसपेसीमा आउने कडापन वा जोर्नीको चलायपनमा हुने ह्रासले पाता र कुमको हड्डीले बनाउने जोर्नीहरु आवश्यकताभन्दा कम चल्ने हुन सक्छ भने जोर्नीलाई आफ्नो ठाउँमा समातेर राख्ने तन्तुहरुको अधिक लचकताले जोर्नी आवश्यकताभन्दा कम वा बढी चल्न गई कुम चलाउँदा वा कुममा वजन पर्दा दुख्ने वा असहज हुने गर्दछ।

लक्षण र जाँच गर्ने तरिका

उल्लेखितमध्ये जुनसुकै कारणले समस्या सुरु भए पनि बिरामीले सुरुमा महसुस गर्ने भनेको कुम चलाउँदा दुख्ने वा असहज हुने नै हो। विषेशगरी हात कुमभन्दा माथि उठाउन गाह्रो हुने, सुतेर बिहान उठ्दा कुम र पाताको जोर्नी वा वरिपरिको भाग सुन्निएको महसुस हुने र छुँदा दुख्ने, दुखेको कुममा कोल्टो सुत्न गाह्रो हुने, कपाल कोर्ने अथवा कपडा लगाउने र खोल्ने जस्ता सामान्य काम गर्न गाह्रो हुने, शरीर पछाडि हात लग्न गाह्रोे पर्ने आदि लक्षण देखा पर्दछन्।

यस अवस्थामा कुन कारणले समस्याको सुरुवात भएको हो भनेर पत्ता लगाउन फिजियोथेरापिष्टले प्राथमिक रुपमा शारीरिक जाँच गर्छन् भने आवश्यक पर बिरामीलाई एक्सरे, अल्ट्रा साउण्ड, वा एमआरआई जाँचको लागि फिजीसियन डाक्टरलाई रेफर पनि गर्न सक्छन्।

उपचार र रोकथाम

कुम र पाताको समस्या भएका  केही बिरामीहरु फिजियोथेरापिष्टकोमा उपचारको लागि सिधैं आउने गर्दछन् भने कोहीलाई फेमिली डाक्टर वा अर्थाेपेडिक डाक्टरले पनि रेफर गर्छन्।

यद्यपि फिजियोथेरापिष्टसँग परामर्श वा उपचार गर्नकै लागि डाक्टरको रेफरल जरुरत पर्दैन, नेपालमा वा क्यानाडामा पनि।

उल्लेखित दुखाईका कारण र प्रकारबारे जानकारी प्राप्त भैसकेपछि यस्तो समस्या हुने बिरामीहरुले के बुझ्नु जरुरी छ भने खाने वा सुईबाट लिइने अधिकतर औषधिहरुले दुखाई अथवा सुन्निएको कम गर्ने काम मात्रै गर्छन्।

माथि उल्लेख गरिसकियो, दुखाइ एउटा लक्षण मात्रै हो भने सुन्निने भनेको दुखाईका धेरै प्रकारहरु मध्येको एउटा मात्र कारण हो। दुखाइले गर्दा सुत्न बस्न नै नसक्ने भई गाह्रो भएको अवस्थामा औषधिको प्रयोगले धेरै सहयोग पुर्याउँछ तर, यसको नकारात्मक असर पनि हुने गर्छ।

औषधिको मात्र भरपर्दा समस्याको मूल कारण के हो भन्ने थाहा पाउन सकिंदैन जसले गर्दा समस्याको समाधान हुँदैन बरु समस्या दीर्घकालीन बन्न सक्ने जोखिम रहन्छ।

विचार गर्नुपर्ने अर्काे महत्वपूर्ण कुरा के छ भने दुखाई कम गर्ने औषधि र सुईको प्रयोगले तत्कालका लागि दुखाई घट्छ। यस्तो बेलामा बिरामीले सन्चो भएको महसुस गरी चोट लागेकै कुम र पाताले अधिक काम गरी समस्यालाई अझै जटिल बनाउने सम्भावना रहन्छ।

यसर्थ समस्याको दीर्घकालीन समाधान गर्नको जडबाट नै निको पार्नु पर्ने हुन्छ। उदाहरणका लागि मांसपेसी च्यातिएर दुखाई सुरु भएको हो भने च्यातिएको मांसपेसीको उपचार गरी निको पार्नु पर्छ। अधिकांश अवस्थामा फिजियोथेरापी उपचारमा दुखाई कम गर्ने मात्र नभई समस्याको स्थायी समाधान खोज्ने गरिन्छ।

उपचारको सुरुवाती चरण दुखाई कम गर्नमा केन्द्रित हुनु पर्ने अवस्था भए पनि उपचारको मुख्य उद्देश्य समस्याग्रस्त हाडजोर्नी मांसपेसीलगायत भाग वा अंगहरुलाई तन्दुरुस्त अवस्थामा फर्काउने नै हो। यसका लागि  फिजियोथेरापिष्टहरुले बिरामीलाई समस्याबारे सही जानकारी दिने, विभिन्न मेसिनको प्रयोग गरी उपचार गर्ने, म्यानुअलथेरापी, व्यायाम विधिहरु प्रयोग गर्ने र दैनिक गर्नुपर्ने कार्यहरु कसरी सही र सहज तरिकाबाट गर्न सकिन्छ भनेर बिरामीलाई एर्गोनोमिक परामर्श दिने गरिन्छ।

बिरामीको उमेर, समस्याको जटिलता, सुरु भएको अवधि, बिरामीले नियमित गर्नुपर्ने व्यायाम गरे नगरेको अवस्था, जथाभावी व्यायाम गरेको अवस्था अथवा समस्या भएको बेलामा गर्नु नहुने कार्यहरु गरेमा उपचार गर्न लाग्ने समय र उपचार विधिलाई प्रभाव पर्न सक्ने हुँदा बिरामीले यस्ता कुराहरूबारे हेक्का राख्नु जरुरी हुन्छ।

बिरामी र अरूले पनि के बुझ्न जरुरी छ भने घरमा वा काममा गर्ने शारीरिक परिश्रमले मात्र हाम्रो शरीरलाई चाहिने मर्मत सम्भार पुग्दैन। अझ खासमा भन्ने हो भने हामीले दैनिक गर्ने कामकाजले मांसपेसी, हाडजोर्नी र अरु तन्तुहरुमा निरन्तर तनाव सिर्जना गर्छन् जसले गर्दा र धेरैजसो हाडजोर्नी, नशा सम्बन्धी समस्या सुरु हुन्छन्।

शरीरको चलायपन, मांसपेसीको बलियोपन र लचकता जोगाइ राख्न व्यायामहरु नियमित गरे पुग्छ। त्यसका लागि आफ्नो शरीरको अवस्था के छ र सावधानीका साथ कुन व्यायाम शरीर सुहाउँदो छ भन्ने थाहा पाउनुपर्छ।

त्यसो नगरे व्यायामले असर नगर्ने वा उल्टो असर देखाउन सक्ने पनि हुन्छ। व्यायामका लागि फिजियोथेरापिष्टसँग परामर्श गर्न सकिन्छ। फिजियोथेरापी उपचार आवश्यक छ भने सबैभन्दा पहिला त्यसको समाधान गरेर व्यायामा गरे प्रभावकारी हुन्छ।

कुम र पाताको दुखाइको कारण फरक फरक हुनाले राम्ररी जाँच र परामर्श गरेर मात्रै समाधानका लागि उपचार विधिहरु अपनाउनु बुद्धिमानी हुन्छ।

(क्यानाडामा रहेका गौतम रजिष्टर्ड फिजियोथेरापिष्ट हुन्। यो आलेख ‘नेपालटच’ बाट लिइएको हो । )

-केही परामर्श आवश्यक परे गौतमलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *