कट्टेलको छन्दोबद्ध नवौँ कृति ‘दीप्तदृष्टि’ पाठकमाझ

विराटनगर । कवि हरि कट्टेलको नवौँ कृति छन्दोबद्ध कविता सङ्ग्रह ‘दीप्तदृष्टि’ पाठकमाझ आएको छ । उक्त कृति विराटनगरमा सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङ, विशिष्ट अतिथिहरू प्राज्ञ एनपी आचार्य, प्राज्ञ खेम नेपाली, साहित्यकार सरला चापागाईं ,बलराम पोखरेल, महाकाव्यकार सोमराज अभय, प्रा. डा. इतिहासविद् गणेश क्षेत्रीलगायतले कृति सार्वजनिक गरेका थिए ।

कृतिमाथि प्रा. डा. रमेश घिमिरे र प्रा. डा. हरिहर भण्डारीले समीक्षा गरेका थिए । घिमिरेले ‘दीप्तदृष्टि’ पढेपछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रुपमा देखेको बताए । ‘शिल्पका दृष्टिले, रसका दृष्टिले, कवित्व र विषयबस्तुका दृष्टिकोणले समेत कृति उदाहरणीय छ’ उनले भने ।

यसैगरी, विश्लेषक भण्डारीले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उनको दीप्तदृष्टि सङ्ग्रहलाई खोजेर पढ्नु पर्ने दिन आएको बताए ।

कृष्ण भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा, इलाम, झापा, सुनसरी, थनकुटा र मोरङका साहित्यकार सहभागी थिए । पोखराका साहित्यकार डा. कालु सुवेदी, डा देवी पन्थी, बलराम पोखरेल लगायतले कृतिको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, बालकवि प्रज्ञा कट्टेल लगायतको सांगीतिक कविता गायनले कार्यक्रम रमाइलो बनेको थियो । नेपाल स्रष्टा समाज काठमाडौँबाट प्रकाशित उक्त कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले कार्यक्रम आयोजना गरी पाठकमाझ ल्याएको हो ।

‘बिलौनै बिलौना’ लिएर आए कवि कट्टेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *