‘बिलौनै बिलौना’ लिएर आए कवि कट्टेल
विराटनगर । कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य ‘बिलौनै बिलौना’ को दोस्रो संस्करण शनिबार सार्वजनिक गरिएको छ ।
प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो ।
कृतिको विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्रा. डा. मेदिनीप्रसाद शर्मा, प्रा. डा. हरिहर भण्डारी, महाकाव्यकार सोमराज अभय, साहित्यकार बलराम पोखरेल लगायतले संयुक्त रूपमा सार्वजनिक गरे ।
कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले कट्टेलको ‘बिलौनै बिलौना’ उनको १८ वर्षभन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध खण्डकाव्य भएको र कलिलो उमेरमै छन्दमा सिद्दहस्त पाइएको बताइन् ।
‘बिलौनै बिलौना’ काव्यमा कट्टेलले अर्को कृति ‘चन्द्र कान्ति’ तयार रहेको र छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरेको भन्दै उनले ‘चन्द्रकान्ति’ कट्टेलको अझ जेठो कृति देखिने उनले उल्लेख गरिन् । कट्टेलका गद्य, पद्य कविताहरू परिपक्व रहेको पनि उनले बताइन् ।

प्रमुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमै विद्रोही चेतका कविता लेख्ने कवि छन्दो कविताको पुराना र बलिया कवि भएको चर्चा गरे ।
प्राज्ञ विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गरे । उनले भने ‘कट्टेल छन्द कविता निकै सङ्कटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित कवि हुन।’
यस्तै, अतिथि बलराम पोखरेल, प्रा. डा, मेदिनी शर्मा, प्रा. डा. हरिहर लगायतले पनि कट्टेल र उनको विमोचित काव्यको चर्चा र प्रशंसा गरे ।
कार्यक्रममा कवि रमेशचन्द्र अधिकारी, कवि शारदा कार्की, बालकवि प्रज्ञा कट्टेल लगायतले उक्त काव्यका कविताहरू वाचन गरेका थिए । कार्यक्रम छन्दवाटिका नेपालका सचिव चिरञ्जिवी काफ्लेले सञ्चालन गरेका थिए ।
