वर्षको अन्तिम साँझ

यस्तो लाग्छ वर्ष भरी
आफूलाई नहेरी बिताइएछ
अबको केही क्षण
मात्र बात मार्नु छ आफैँसित
गर्नु छ प्रण आफ्नै मनसँग ।

भोलि त नयाँ दिन
त्यसैले
वर्षको अन्तिम साँझ
फ्याँकेर मनका सारा असन्तुष्टि
मिल्काएर पर घृणालाई
आजै जानु छ कतै सन्तोषको गाउँमा र
प्रेम र आनन्दको बिउ अङ्कुरित गरेर
रोप्नु छ मिलनको हरियो बोट
हुर्काउनु छ स्नेहको हरभरा दुनियाँ ।

कठिन छ मनमा प्रेमको बीउ हुर्काउन
झन् कठिन छ इन्द्रियहरुलाई बसमा राख्न
तर सबै बानी त हो
अभ्यास हो दृढ सङ्कल्पको

भोलि नयाँ वर्षको शुरुवात
मन्द मन्द पवनमा
सुवास लिँदै बेली चमेलीको
सुन्दै कोकिलको मधुर आवाज
हेरिरहनु छ यी आँखाले आँपका कमसल टिकुलाहरु
सम्झिनु छ वर्षभरी आफूले गरेका भूल, गल्तीहरु
अनि झार्नु छ हुरीमा यिनै टिकुलाझैँ

अलि पर गएर
ढलिदिनु छ फुक्का शरीर हरियो चौरमा
हात फैलाएर हेरिरहनु छ मौन
निलो आकाश एक टक लाएर
अनि पार्नु छ आक्रान्त मनलाई शान्त।

हिँड्दा हिँड्दै
बस्नु छ बग्दै गरेको नदी किनारामा
सम्झिदै आफूले गरेका कर्महरु
रोपेका वैमनस्यहरु
र बगाइदिनु छ ती सबै सबै त्यही पानीमा ।

अब आउने नयाँ वर्षमा
यावत् दोषलाई स्वीकार्दै
खुकुरीको धारजस्तै मनलाई फूलमा परिणत गर्दै
बदल्नु परेको छ आफैंलाई
संसार त त्यसै सुन्दर छ
मनमा प्रेम भए संसारै प्रेममय हुनेछ ।

वर्षको अन्तिम साँझ
एक छिन सुस्तरी अडिएर
हेर्नु छ आफैतिर फर्केर
सुधार्नु छ आफैंलाई
छ्लकपट जालझेलको जालो झार्दै
ईर्श्या, लोभ, राग र द्वेषको मयल धोएर
सफाई गर्दै बेस्सरी आफ्नै मनको
प्रेमकै अमृत धारा बगाउनु छ
प्रेमकै धारा पिउनु छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *