सुनसरीको कोशी कटान क्षेत्रमा आगजनी, स्थिति तनावग्रस्त

विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका-३ मा भएको गोलीकाण्डको विरोधमा मंगलबार कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा तनाव उत्पन्न भएको छ।

प्रदर्शनका नाममा आएको अराजक समूहले कोशी कटान बजारका व्यावसायिक पसलहरूमा तोडफोड र आगजनी गरेको छ। समूहले सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठ लगायत स्थानीय व्यवसायीहरूका पसलहरूलाई लक्षित गरी क्षति पुर्‍याएको स्थानीय पत्रकार धर्मेन्द्र मेहताले बताए। आगजनी र तोडफोडबाट पसलभित्र रहेका सामान तथा भौतिक संरचना क्षति भएको छ।

यसअघि दुई समुदायबीचको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो झडपमा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी घाइते भएका थिए।

उक्त घटनाको विरोधमा सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ। आन्दोलनका नाममा अराजक गतिविधि बढेपछि स्थिति नियन्त्रणमा लिन सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय प्रशासनले सुरक्षा उपस्थिति बढाएर अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *