ती मजदुर जसले नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको रिबन काटे
काठमाडौँ। सोमबार बिहान करिब साढे १० बज्दै लाग्दा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका क्रममा सुरुङमार्गको प्रवेशद्वार रातो रिबन टाँगेर छेकिएको थियो। रिबन काटेर पूर्वनिर्धारित सवारीसाधान सुरुङ मार्गमा गुड्न खुला गर्ने कार्यक्रम तय थियो।
पूर्वाधारमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायतका अधिकारीहरू हातमा कैँची लिएर रिबन काट्न तयार थिए। उनीहरूका बीचमा थिए दौरासुरुवाल–कोट र नेपाली ढाका टोपी लगाएका एक ज्येष्ठ नागरिक। उनले घाँटीमा परिचयपत्र पनि भिरेका थिए।
को थिए परम्परागत नेपाली पोशाकमा सजिएका ती ज्येष्ठ नागरिक!
उनी थिए कर्णाली प्रदेश, मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर १०, धैनकोट गाउँका ६२ वर्षीय पुन्न जैसी।
पुन्न नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणकार्यका मजदुर हुन्। उनले त्यहाँ काम गरेको तीन वर्ष भयो। चाडपर्वमा घर जानेबाहेक उनले निरन्तर सुरुङमा मजदुरी गरे।
उनको गाउँसम्म मोटरबाटो पुगेको छैन। गाउँबाट काठमाडौँ आउन कर्णाली राजमार्ग हुँदै सुर्खेत पुग्नुपर्छ। सुर्खेतबाट नेपालगञ्ज हुँदै काठमाडौं आउनुपर्छ।
सुर्खेतबाट कर्णाली राजमार्ग हुम्लाकर्णाली र मुगुकर्णालीको दोभान दोमुखासम्म पुगेको छ। त्यहाँ कर्णाली नदीमा पुल बनेको छैन। दोमुखामबाट पुन्नको घर पुग्न मस्त हिँड्ने मान्छेलाई पनि कम्तीमा चार घण्टा लाग्छ। बाटो सिधै उकालो छ।
पहिलो पटक गाडी देख्दा पुन्न २० वर्ष उमेरका थिए। उनले कामका लागि भारत जाँदा गाडी देखेका थिए, गाडीमा यात्रा पनि गरेका थिए। नेपालमा करिब ३० वर्षको उमेरमा नेपालगञ्जमा गाडी देखेका थिए। त्यसपछि कहिलेकाहीँ गाडी चढेर यात्रा गर्न पाउँथे।
उनले श्रीमतीका साथ थानकोटमा डेरा लिएर सुरुङमा मजदुरी गरे। देशकै पहिलो सुरुङ राजमार्ग रिबन काटेर उद्घाटन गर्ने अवसर पाए।
पुन्नले कसरी पाए त यस्तो अवसर!
सुरुङमा काम गर्ने मजदुरहरूमध्ये उनी सबैभन्दा जेठा थिए। पूर्वाधारमन्त्री लम्सालले मजदुरका हातबाट रिबन काटाउने चाहना गरेपछि ज्येष्ठ मजदुरका हैसियतमा पन्न छानिए।
उनलाई काम लगाउने कम्पनीका अधिकारीले उद्घाटन कार्यक्रमबारे शनिबार जानकारी गराएका थिए। मन्त्री र अरू पाहुना आउने कुरा पनि भनेका थिए।
लगाउने लुगाको कुरा पनि सोधेका थिए। कोट, दौरासुरुवाल, टोपी र जुत्ता उनीसँगै थियो। उद्घाटन गर्नुपर्ने भएपछि उनले शनिबारै लुगा धोए, नुहाए। सफाचट भए।
निर्धारित समयमा उद्घाटन स्थलमा पुगे। उनलाई काम लगाउने कम्पनीका कुनै अधिकारीले घाँटीमा परिचयपत्र झुड्याइदिए।
रिबन काट्ने तयारी भयो। उनीसहित पाँच जनाको हातमा कैँची थियो। मन्त्री लम्साल र जापानी पाहुनाले पनि रिबन काट्ने अपेक्षा अयोजकहरूको थियो।
काट्ने बेलामा मन्त्री लम्सालले पुन्नलाई मात्रै अघि सारे। ‘तपाईं काट्नुहोस्, एक जनाले काटेपछि भइहाल्छ’ भने।
पुन्नले रिबन काटे। मन्त्री, जापानी पाहुना र उपस्थित सबैले ताली बजाए। सुरुङको प्रवेशद्वार खुला भयो। गुड्न तयार गाडी अघि बढे।
मुगुको त्यो दुर्गम सोरुका बासिन्दा पुन्न आफूले काम गरेको सुरुङमार्ग आफ्नै हातले उद्घाटन गर्न पाउँदा प्रसन्न छन्। सरलपत्रिकासँग उनले आफ्नै लवजमा भने, ‘म औधी खुसी भया छु। म दुर्गमको मान्छे, मजदुर हुँ। मजस्तो मजदुरले मन्त्रीसँगै उभिएर रिबन काट्न पाउनु मेरो भाग्य हो।’
पुन्नले रिबन काटेर उद्घाटन गरे तर उद्घाटनको ताम्रपत्रमा उनको नाम छैन। ताम्रपत्रमा ‘पूर्वाधार विकास मन्त्री श्री सुनिल लम्सालज्यू द्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङ मार्ग नागढुंगा सुरुङ मार्गको समुद्घाटन सुसम्पन्न भयो’ लेखिएको छ।
ताम्रपत्रमा पुन्नको नाम नभएको विषयमा जिज्ञासा राख्दा उनले त्यसबारे आफूलाई केही पनि थाहा नभएको बताए। उनले भने, ‘रिबन काटेर उद्घाटन गर्नुपर्छ भनेपछि गया हुँ, अरू केही थाहा भएन।’
नामका बारेमा आफूलाई चासो नभएको पनि उनले बताए।
फोन कुराकानीमा पुन्न निकै प्रसन्न सुनिए। यसरी मन्त्रीसँगै उभिएर रिबन काटेर सुरुङ मार्ग उद्घाटन गर्न पाउने कुरा उनले कहिल्यै सोचेका थिएनन् रे।
पुन्नले आफूसँग मन्त्री लम्सालले कुरा गरेको पनि बताए। उनका अनुसार मन्त्री लम्सालले पन्नको घर, बसोवास र परिवारबारे चासो राखेका थिए।
उद्घाटन समारोहमा आफ्नो सहभागिताबाट पुन्नले मजदरको सम्मान भएको अनुभव गरेका छन्।
(तस्बिर सौजन्य : पुन्नका छोरा नन्दऋषि जैसी)
