अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले आज मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले एक विज्ञप्ति जारी गरी वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको विरोधमा सेवा बन्दको घोषणा गरेको हो।

संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडका दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न माग गरेको छ।

संघले जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुव्र्यवहार गरेको जनाउँदै विरोध गरेको छ। संघले उक्त घटनाको भर्त्सना गरेको छ।

संघले चिकित्सकहरूको मानमर्दन गरेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न सरकारसँग माग गरेको छ।

यसैगरी संघले आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन अपील गरेको छ। सेवाबन्दीबाट बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *