पूर्वपश्चिम राजमार्ग अवरुद्ध, विभिन्न जिल्लामा आन्दोलन चर्कियो

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु र ९ जना घाइते भएको घटनाको विरोधमा मंगलबार कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ।

विराटनगरमा बजार बन्द गराउँदै प्रदर्शन गरिएको छ। हनुमान मन्दिरबाट सुरु भएको जुलुस ट्राफिक चोक र महेन्द्र चोक हुँदै पुनः हनुमान मन्दिरमै पुगेर सकिएको थियो। व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरिएपछि बजारको जनजीवन प्रभावित भएको छ।

आन्दोलनरत पक्षले दिउँसो ४ बजे बुधहाट चोकमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम तय गरेको छ। कुनै अप्रिय घटना हुन नदिन बजार क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

यस्तै, सुनसरीमा प्रदर्शनकारीहरूले पकलीदेखि कोशी ब्यारेजसम्म पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। स्थिति तनावपूर्ण हुन नदिन प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज क्षेत्रमा कर्फ्यू जारी गरे पनि प्रदर्शन रोकिएको छैन।

कप्तानगन्ज घटनाको असर सिरहासम्म पुगेको छ। सिरहाको गोलबजार नगरपालिका-८ पुरानो चोक चोहर्वामा स्थानीयहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरे। आन्दोलनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, प्रहरी दमनको अन्त्य र गृहमन्त्रीको राजीनामा माग गरेका छन्। यसअघि सोमबार पनि बन्दीपुर, गोलपार्क र कसहा चोकमा विरोध प्रदर्शन भएको थियो।

गत आइतबार राति देवानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज-४ का  मेहताको मृत्यु भएको थियो। सो घटनापछि सुनसरी, मोरङ, सप्तरी, सिरहा, पर्सालगायतका जिल्लामा आन्दोलन जारी छ। आन्दोलनका नाममा कतिपय ठाउँमा आक्रमण, आगजनी, तोडफोड र कुटपिटका घटनासमेत भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *