हाजिर नभएको दिन

समय एउटा अचम्मको घडी रहेछ, जो कहिल्यै र कसैका लागि पनि पर्खिंदैन। तर, यो सहरका जागिरे मानवहरूका लागि समय एउटा यस्तो अदृश्य “कोर्रा” बनेर उभिएको छ, जसको प्रत्येक प्रहारमा निद्रा बिथोलिन्छ, सपनाहरू अत्तालिन्छन् र बिहानीको सुन्दरता फिक्का बनिदिन्छ। हो, आजभोलि कर्मचारीहरूका आँखामा त्यो मिठो, शीतल र गहिरो निद्रा छैन। रातको पछिल्लो प्रहर नसकिँदै मनभित्र एउटा त्रासको घण्टी बज्न थाल्छ- “बिहान हुनासाथ आज अफिस समयमै पुगेर हाजिर गर्न भ्याइने हो कि होइन?”

यो एउटा यस्तो प्रश्न हो, जसले हरेक बिहानीको सूर्योदयलाई स्वागत गर्नुअघि नै मनमा चिन्ताको बादल मडारिदिन्छ। ओछ्यानबाट झिस्मिसेमै ब्युँझिँदा मनमा शान्ति र चैनको एउटा सानो त्यान्द्रो पनि बाँकी रहँदैन। चियाको चुस्कीमा स्वाद हुँदैन, केवल हतारोको तितोपन हुन्छ। भान्साकोठामा पाक्दै गरेको खानाको सुगन्धभन्दा बढी समय घर्किएको चिन्ताले मन अमिलो बनाउँछ। ठिक नौ बजे कार्यालयमा पुगेर हाजिर गरेपछि मात्र मन ढुक्क हुन्छ, मुटुको गति पनि स्थिर हुन्छ।

कस्तो उदेकलाग्दो यो महानगरीय जीवन! जहाँ मनमा कतै शान्ति छैन, केवल एउटा यन्त्रवत् दौड छ- घडीको सुईसँग प्रतिस्पर्धा गरिरहेको अतासिएको मान्छे।

दौडँदा-दौडँदै थाकेका गोडाहरू र हतारोको भुमरीमा परेको मन बोकेर जब कर्मचारी मान्छे भोजनको नजिक बस्छ, त्यहाँ पनि तृप्ति मिल्दैन। घडीको टिक्टिक् आवाजले छातीमा हिर्काइरहँदा आधा खाँदै गरेको गाँस मुखमै अड्किन्छ। त्यो तृप्तिको गाँस आधा नै छोडेर, भोक र हतारलाई सँगै मुठ्ठीमा कसेर मान्छे सडकमा दौडिन्छ। तर यो सहरका सडकहरू कति निष्ठुरी छन्! कहिले चक्काजाम, कहिले गाडीको लामो लाइन, त कहिले सोच्दै नसोचेको अवरोध।

बिहानको समय सबैलाई यति हतारो हुन्छ कि भनिसाध्य छैन। यही समय स्कुल र कलेज बसको लाइन हुन्छ। एम्बुलेन्स र दमकल जस्ता अति आवश्यक साधनको हर्न सुन्दा कान थुनेर तिनलाई बाटो नछोडी हुँदैन। फोहोरको गाडी, पानीट्याङ्की, तरकारी र फलफूल बेच्ने ठेलागाडाको ताँती- यी सबैले सार्वजनिक बाटोलाई आफ्नै पेवा ठानेर ढुक्कले बाटो ढाकेर आवागमनलाई अवरोध गरिरहेका हुन्छन्।

फेरि अर्को कुरा, चोक र चौबाटामा तैनाथ ट्राफिकको हेराइ उस्तै निष्ठुरी हुन्छ। सामान्य गल्तीलाई पनि ठूलै अपराध ठानेर ट्राफिक नियमको उल्लङ्घन गरेको अभियोगमा पुर्जा थमाइहाल्छन्। आफूले गल्ती नै नगरेको हुन्छ, तैपनि ट्राफिकले गल्ती देखिसकेको हुन्छ। “एकचोटिलाई गल्ती भयो माफ गर्नुस् न” भनेर हात जोड्दा कहाँ माफी पाउनु र? चिर्कटोको पुर्जा लिएर बग्गीखानामा पुग्दा “ड्युटीमा खटिएको ट्राफिकसँग विवाद गरेको” कसुर पनि थपिँदो रहेछ। लाइन लाग्नुपर्ने, ट्राफिक कक्षा लिनुपर्ने बाध्यता!

कार्यालय समयमा सबैलाई हतार नै हुन्छ। त्यसमाथि “ड्रेस” मा हिँडेका कर्मचारीलाई नै झन् बढी सजायको भागिदार बनाइन्छ। एकातिर कार्यालयमा हाजिर हुनुपर्ने अनिवार्य नियमको पालन गर्न छिटो गति चाल्नुपर्ने र अर्कोतिर छिसिक्क केही हुँदानहुँदै ट्राफिकको कारबाहीमा पर्नुपर्ने अवस्था! म आफूले प्रत्येक दिन प्रत्यक्ष देख्दै र भोग्दै आएको छु- ट्राफिकको आँखा सधैँ अनावश्यक झमेलामा सवारी चालकलाई कारबाही गर्नेतिर हुन्छ। गल्ती नै नगरे पनि गल्ती देखाएर चिट काट्ने गरिन्छ।

जतिसुकै हतार गरेर पसिना-पसिना हुँदै दौडिए पनि कहिलेकाहीँ नियतिले समयको ढोका थुनिदिन्छ। कार्यालयको दैलोमा पुग्दा घडीको सुईले नौ बजाइसकेको हुन्छ। हाजिरीको “डिभाइस” अगाडि अनुहार देखाउँदा नौ बजेर एक सेकेण्ड गइसकेको हुन्छ। त्यत्रो दौडादौड, त्यत्तिको हतारो र गाडीलाई उछिनेर, जामलाई छिचोलेर, ट्राफिकको कडा नजरबाट बालबाल जोगिएर कार्यालयमा पुगिसकेको कर्मचारी त्यही एक सेकेण्डका कारण गयल हुन्छ। अनुपस्थिति! अनि, त्यो रातो मसी वा डिजिटल मेसिनको रातो बत्तीले क्रूरतापूर्वक भनिदिन्छ- आज तपाईं ढिलो हुनुभयो! आज तपाईंको हाजिर नभएको दिन हो। तपाईंलाई आज कार्यालयमा काम गर्ने अधिकार छैन।

यसपछि कार्यालयमा नौ बजे हाजिर हुन नसक्दा सिङ्गो दिन नै अर्थहीन जस्तो बनिदिन्छ। काम के गर्ने?, समय कसरी बिताउने? र कहाँ जाने? हाजिर नभएपछि काम गर्ने जाँगर र उत्साह कसरी पलाओस्? किनकि यो औपचारिक संसारमा सबैको आ-आफ्नो व्यस्तता, हतार र दौडधुपको जिन्दगी छ। यस्तोमा फुर्सदले समय जिस्काएर बिताउनु भनेको आफैँलाई ठग्नु हो।

अधिकांश कर्मचारीको मुख्य काम कार्यालयमा पुगेर समयमै हाजिर गर्नु र आफ्नो जिम्मेवारीमा लाग्नु हो, जहाँ सेवाग्राही सेवा पर्खेर बसेका हुन्छन्। त्यहाँ एक जना कर्मचारीको गयल हाजिरीले समग्र सेवामै ठूलो असर पार्छ। तर समयमा हाजिर हुन कर्मचारीलाई सधैँ धौ-धौ नै हुन्छ।

“काम” भन्दा हाजिर हुनुको ठूलो भूमिका हुन्छ। “हाजिर” हुनु भनेको कार्यालयमा उपस्थित हुनु हो। त्यसपछि काम गर या नगर त्यसको कुनै मूल्य छैन। तर कुनै कर्मचारीलाई “हाजिर नभएको दिन” आउनु भनेको आफूलाई ठग्नु होइन, कर्मचारीलाई हाजिर गर्नमै जोड दिइएको एउटा अचम्मको नियम हो। हाजिर नहुँदा बिदामा बस्नुपर्ने बाध्यता आउँछ। त्यतिबेला सेवाग्राहीले सुविधा पाउन सक्दैनन्। सुविधा नपाउनु भनेको के कर्मचारी अनुपस्थित हुँदाको फाइदा हो? आखिर यसले कसलाई फाइदा गर्यो?

हाजिरै नभई कार्यालयमा काम गर्नुपर्ने अवस्था पनि आउँछ तर यसरी गरिएको काममा दुर्भाग्यवश कुनै नराम्रो काम भइदियो भने दोष उही गयल हुने कर्मचारीकै हुन्छ। त्यसपछि त्यो कर्मचारीले सजायको भागिदार बन्नुपर्छ। अन्ततः अनुहार अगाडि भएर के गर्नु, जब कागज वा मेसिनमा उपस्थितिको प्रमाण नै हुँदैन! हाजिर नभईकन काम गर्दागर्दै कतै केही तलमाथि भयो वा कुनै गल्ती भयो भने त्यसको जिम्मेवार को हुने? प्रश्नहरूको वर्षा सुरु हुन्छ- “हाजिर नभईकन कसरी काम गरेको?”

यो कर्मचारीय संयन्त्रको एउटा यस्तो कठोर नियम हो, जहाँ भावनाको कुनै मूल्य हुँदैन, उपस्थितिको “औँठाछाप” मात्रै “सर्वोपरी” हुन्छ। उपस्थित भएपछि कार्यालयमा काम गर्ने अधिकार सुरक्षित हुन्छ। जागिर पाक्छ, तलब आउँछ। कतिपय ठाउँमा कामको मूल्य भएन, हाजिरको मूल्य भयो। हाजिर गरेपछि काम नगरे पनि भयो! कतिपय हाजिर नभएर पनि कार्यालयको काम भनी इमानदारीपूर्वक काम गर्छन् तर तिनको मूल्याङ्कन गरिँदैन। बरु हाजिर गरेर काम नगरी बस्नेको मूल्य हुन्छ।

वास्तवमा, हाजिर नभएको दिन एउटा कर्मचारीका लागि केवल एउटा सुक्खा दिन मात्र होइन, त्यो त एउटा नमिठो, खल्लो र नमज्जाको दिन हुन्छ। दिनभरि मनमा एउटा ग्लानि, अनुहारमा एउटा पराजित भाव र आत्मामा एउटा रिक्तता छाइरहन्छ। खाँदाखाँदैको गाँस छोडेर, प्राण हत्केलामा राखेर दौडिएको त्यो इमानदार कर्मचारी जब जतिसुकै हतार गर्दा र दौडिँदा पनि समयको परिबन्धमा परेर हाजिर हुन सक्दैन, तब ऊ त्यो दिनको “गयल” को पानामा दरिन पुग्छ।

त्यो गयल मात्र एउटा पानाको केरमेट मात्र होइन, त्यो त उसको निष्ठा, उसको हतारो र उसको पसिनामाथि पोखिएको एउटा “चिसो पानी” हो। ढिलो उपस्थित हुनुको “सजाय” पनि हो। हाजिर नभएको दिनले मान्छेलाई मेसिन हुनुको पीडाबोध गराउँछ र भनिदिन्छ- “तिमी मान्छे हौ, तर तिम्रो पहिचान समयको त्यो एउटा सानो बिन्दुमा मात्र सीमित छ।”

कति विवश छ, हाजिर हुन नसकेको एउटा कर्मचारीको दिन!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *