नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज बिहीबार देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट विचारधारा बोक्ने पार्टीहरूले दिवसका अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरेका छन्।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल सहिद गङ्गालाल श्रेष्ठका भाइ हुन्। उनले प्रवास (भारत) मा बसेर लामो समय नेपालको कम्युनिस्ट आन्दोलन र नेकपाका गतिविधिहरूलाई अगाडि बढाएका थिए।
पुष्पलालले कार्ल मार्क्स र फेडरिक एङगेल्सद्वारा लिखित विश्वप्रसिद्ध ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। यसका साथै उनले विभिन्न कृति र लेखहरू मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
निरङ्कुश राणाशाहीको विरोध र प्रजातन्त्रको स्थापनाका लागि पुष्पलालले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर ‘नेपाली प्रजातान्त्रिक सङ्घ’ गठन गरेका थिए।
त्यसपछि, विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे।
पुष्पलालले नेपाली कांग्रेसलगायतका अन्य प्रजातान्त्रिक शक्तिहरूसँग मिलेर संयुक्त जनआन्दोलन मार्फत मात्र पञ्चायती व्यवस्था परास्त गर्न सकिन्छ भन्ने राजनीतिक मत राख्दथे।
विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा पुष्पलालको निधन भएको थियो।
४८औँ स्मृति दिवसका अवसरमा आज नेकपा ९एमाले० राजधानी प्रदेश कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी, अन्य कम्युनिस्ट पार्टीहरूले पनि उहाँको योगदानको स्मरण गर्दै विविध कार्यक्रम आयोजना गरेका छन्।
