सिड्नी विमानस्थलको त्यो निकासद्वार
सिड्नी विमानस्थलको मिलन विन्दु अर्थात् दि मिटिङ प्वाइन्टमा केही समय बिताउनु पर्ने भयो। ठूलो विमानस्थलमा निकास द्वार पनि धेरै हुन्छन्। लिन आउने आफन्त एकातिर आउला, आफू अर्कोतिर पर्खेर बसिएला। हातमा फोन पनि नहोस् अनि हुने त बिजोग हो।
मैले महादेवीको ध्यानाकर्षण गर्दै भनेँ, ‘हामी जस्ता बेवारिसे मान्छे अरु पनि रहेछन्।’
उनलाई ‘वेवारिसे’ भन्ने शब्द रमाइलो लागेछ। उनले भर्खरै श्रीलङ्काबाट आएकी लगभग ७० वर्षकी एक महिलालाई भेटेकी रहिछन्। उनी पनि विमानस्थलमा आफूलाई लिन आउने आफन्त पर्खेर बसेकी रहिछिन्।
हामीलाई लिन हाम्रा ज्वाइँसाहेब र मेरा साहिँला मामाका छोरा आउँदैहुनुहुन्थ्यो। हामी रमिता हेर्ने र कफी पिउने काम गरेर समय बिताउन थाल्यौँ।
म ल्यापटपमा केही हेर्दै थिएँ। म बसेको देब्रेतिर कोही बोलेको सुनियो। भुइँमा हात पुछ्ने टिस्यु पेपर झरेको रहेछ। औपचारिक पहिरनमा सजिएकी एक सुरक्षाकर्मी सरसफाइकर्मी महिलालाई केही भन्दै थिइन्। मैले आवाज आएतिर पुलुक्क हेरेँ। सुरक्षाकर्मी महिलासँग चार आँखा भए।
उनले भनिन्, ‘इट वाज नट मिन्ट फर यु।’ ‘नेभर माइण्ड। दिस इज माइ फिल्ड। आइ एम एन इन्भारोन्मेटल इन्जिनियर।’
मैले यसो भनेपछि उनी मुस्कुराइन्।
मैले कुरो र कुलोको उखान चरितार्थ हुने गरी उनीसँग थप कुराकानी गर्ने मेसो निकालेँ, ‘आर यु अल्सो एन इन्जिनियर?’
‘आई एम इन सेक्युरिटि एण्ड इन चार्ज अफ दिस एक्जिट (म सुरक्षाकर्मी हुँ, यो निकासद्वारको जिम्मेवारीमा छु।’
उनले कुरैकुरामा एक मलाई आश्चर्य पार्ने प्रसंग जोडिन्, ‘मैले कति भनिसकेँ यो निकासद्वार बिग्रेको छ, मर्मत गरिदेऊ भनेर तर जसले सुन्नु पर्ने हो उसले सुनेको नसुने झैँ गर्छ। मर्मत भए यसरी रुङ्नु पर्ने थिएन।’
सरकारी कामको चालामाला अष्ट्रेलियामा पनि उस्तै।
हाम्रो मुलुक नेपालमा जस्तो निर्माण कार्य वा मर्मत कार्यसँग जोडिएको धनप्राप्तिको उदेश्य नहोला भन्ने मैले अनुमान गरेँ। यसले मेरो मनमा केही दिन अघि भएको एक प्रसंग ताजा भएर आयो।
धेरैपछि एक पूर्वविद्यार्थीको फोन आयो, ‘सर, हजुरसँग एउटा जरुरी कुरा गर्नु थियो।’
उनी एक सरकारी कार्यालयमा काम गर्छिन्।
उनको हाकिमको छोराले एक अन्तर्राष्ट्रिय नियोगमा जागिरको लागि आवेदन दिएको रहेछ। हाकिमले मेरी ती पूर्वविद्यार्थीलाई आफ्ना छोराका लागि भनसुन गर्न कोही चिनजानको मान्छेको खोज्न अराएका रहेछन्।
मेरो तीन दशक लामो पेशागत जीवनको आदर्श भनेको ‘भनसुनले काम हुन्छ’ भन्ने सिद्धान्त अर्थहीन र महत्वहीन अस्त्र ठान्नु हो। त्यसमा पनि सम्बन्धित विषयमा क्षमता नै नभएको व्यक्तिका लागि आफ्नो पद र मर्यादाको दुरुपयोग गरी लिस्नो लगाउने काम कहिले पनि गरिनँ।
मैले आवेदकको थप विवरण लिएँ। त्यसको विश्लेषण गरेँ। अनुरागी मेरी पूर्वविद्यार्थीलाई भनेँ, ‘कुनै राजनीतिक नेताले शक्तिको आडमा करारमा जागिर भर्ती गराइदिए जस्तो गरी अन्तर्राष्ट्रिय नियोगमा भनसुनले काम चल्दैन। चलेपनि त्यो तिम्रो र मेरो बुताभन्दा बाहिरको हुन्छ।’
‘त्यो त हो सर, यो अन्तर्य मेरा हाकिमलाई पनि थाहा छ। तर, उनका छोराको हठ र जिद्धीका अघि उनी निहीह हुन्छन्।’
यो कुराकानी भएकै दिन बेलुकी म पुल्चोकबाट ट्याक्सी चढेर कोटेश्वरतिर जाँदै थिएँ। सिन्धुपाल्चोक घर भएका चालकसँग मेरो यही विषयमा कुराकानी भयो।
‘तपाईंलाई आज बेलुका घर पुगेपछि छोराछोरीले सोधे कि बुबा, तपाईं आज कहाँ कहाँ जानु भयो, को को मान्छे भेट्नु भयो, कति आम्दानी गर्नुभयो, तपाईं छोराछोरीलाई कस्तो जबाफ दिनु हुन्छ ?’
‘म त आफूले गरेको कुरो रिठ्ठो नबिराई जस्ताको तस्तै भन्छु।’
‘सही हो। इमानदारीका पक्षधरहरू ले यही गर्छन् तर एउटा घुसखोर कर्मचारी वा कालो धन्धा गर्ने व्यापारीका छोराछोरीले पनि तपाईंलाई जस्तै आफ्ना बाबुलाई सोधे भने कस्तो जबाफ पाउलान्।’
ट्याक्सी चालक मजाले हाँसे।
बेइमानीको बाटो हिँडेको बाबु या निष्ठाको कित्ता मिचेकी आमाले दिने जबाफ यस्तो हुँदो हो– चुप लाग्, तँलाई के को चासो? खुरुक्क आफ्नो काम गर्नू नि।’
मैले दाउमा परेको विषय भारी तौल भएको घनले सकेसम्म माथि उचालेर बजारे झैँ पूर्णशक्तिका साथ सम्प्रेषण गरेँ, ‘बेइमानीको भारी बोकेर हिँड्नुभयो भने तपाईंसँग एक राक्षस साथी बनेर हिँड्छ तर इमानको बैसाखी टेकेर हिँड्नुभयो भने तपाईंको साथमा ईश्वर हुनेछ। ईश्वरले तपाईंको कुभलो गर्दैन।’
चालकले सडक जाम परेको फाइदा उठाउँदै मतिर फर्केर पुलुक्क हेरेर भने, ‘साह्रै चित्तबुझ्दो कुरो गर्नु भो सरले।’
मैले आफ्नो अनुभूतिको नयाँ पाटो सिर्जना गरेँ र आफैँलाई भनेँ, ‘जब आफ्ना बाबुआमाले इमानदारी र अनुशासनको पर्खाल तोडेको कुरा छोराछोरीले थाहा पाउँछन् तब उनीहरू अराजक र अनुत्तरदायी बन्छन्। जस कारणले कालान्तरमा उनीहरू पेशागत जीवनमा असफल हुन्छन्, कुमार्गको लाग्न सक्छन्।’
यसपटक ‘साजी नियात्रा’ लेख्न अनुकूल समय भएन। यसका दुई कारण थिए। पहिलो, साथमा महादेवी थिइन्। उनीसँग कुराकानी गर्नु प्राथमिकताको पहिलो काम थियो। दोस्रो, घरबाट हिँड्नासाथ ढाड दुख्ने समस्या देखा परेको थियो। मैले सिमोन सिनेकद्वारा लिखित ‘लिडर्स इट लास्ट’ भन्ने पुस्तकका केही पृष्ठ पढ्न सकेँ।
सिमोनको एक भनाई यहाँ उल्लेख गर्न लायक ठानेको छु– मृत्यु सबैका लागि पीडादायक र भयावह हुन्छ तर केही नियतिहरू मृत्युभन्दा पनि कठोर हुन्छन्।
सिमोनले पुस्तकमा उल्लेख गरेको सादृश्य यहाँ पनि सान्दर्भिक ठहर्ने मेरो ठम्याइ छ– जब सन्तानले आफ् बाबुआमाको बेइमानी र कपटपूर्ण व्यवहार थाहा पाउँछन् तब उनीहरू ले आमाबाबु परित्याग गर्न सक्छन्, त्यो नियति बाबुआमाका लागि मृत्युभन्दा पनि कठोर बन्न सक्छ।
विकसित मुलुकमा भने तुलनात्मकरूपमा पद्धति र विधिको शासन भएको हुनाले बाउआमाले कुसंस्कार दिए पनि त्यहाँका युवा पुस्ताको गलत बाटो हिँड्ने सम्भावना कम हुन्छ।
सिड्नीकी सुरक्षाकर्मीले सुनाएको निकासद्वारको प्रसंग शायद यही भावनाको अन्तर्यसँग जोडिएको थियो।
दुई मत छैन, अष्ट्रेलियामा आचरण, पद्धति र विधिको शासनको हिसाबकिताब हाम्रो मुलुकमा भन्दा असल र पारदर्शी छ। यसैले उसले रोजगारी सिर्जना गरेर सारा संसारका युवालाई आकर्षित गरेको छ।
