भीषण गर्मीको चपेटामा परेर फ्रान्समा हजारको ज्यान गयो
पेरिस। युरोपभर फैलिएको भीषण गर्मीका कारण फ्रान्समा हालसम्म अतिरिक्त १,००० जनाको मृत्यु भएको फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायले आइतबार जनाएको छ। साथै, वास्तविक मृत्यु संख्या यसभन्दा अझ बढी हुन सक्ने चेतावनी पनि दिएको छ।
प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै सान्ते पब्लिक फ्रान्सले अधिकांश मृतक वृद्धवृद्धा रहेको जनाएको छ। वृद्धाश्रम तथा घरमै भएका मृत्युका थप विवरण प्राप्त भएसँगै मृत्यु दर अझ बढ्ने अपेक्षा गरिएको स्वास्थ्य निकायले जनाएको छ।
युरोपका विभिन्न देशहरू केही दिनयता असह्य गर्मीको चपेटामा छन्। यो तापलहरका कारण दर्जनौँ मानिसको ज्यान गइसकेको छ भने तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। साथै, विद्युत् उत्पादन प्रभावित भएको, पूर्वाधारमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त बनेको छ।
वैज्ञानिकहरूका अनुसार जुन २० देखि सुरु भएको यो तापलहर युरोपको इतिहासकै सबैभन्दा भीषणमध्ये एक हो। उनीहरूका अनुसार युरोपमा जलवायु परिवर्तन विश्वको औसतभन्दा तीव्र गतिमा भइरहेको छ।
फ्रान्समा अत्यधिक गर्मी केही कम, तर जोखिम अझै कायम
तापलहर अहिले पूर्वी युरोपतर्फ सर्दै गएको छ। फ्रान्सको मौसम विभागका अनुसार देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी केही कम भए पनि उत्तर–पूर्वी क्षेत्रका केही स्थान अझै तापलहरको चेतावनी अन्तर्गत छन्।
फ्रान्सकी स्वास्थ्यमन्त्री स्टेफानी रिस्टले ला ट्रिब्युन पत्रिकासँग कुरा गर्दै मौसम सामान्य हुन थालेपछि पनि तापलहरको स्वास्थ्यमा पर्ने असर झण्डै १० दिनसम्म रहिरहन सक्ने बताइन्।
टेलिभिजन च्यानल बीएफएमसँग उनले भनिन्, ‘यो संकट अझै समाप्त भएको छैन।’
सार्वजनिक स्वास्थ्य निकायका अनुसार अधिकांश मृत्यु ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूमा भएको भए पनि अत्यधिक गर्मीको स्वास्थ्य असर भने सबै उमेर समूहका मानिसमा देखिएको छ। रोयटर्स
