पुराना दलको नयाँ खोज: कोइराला निवासबाट सुरु भएको संवाद
काठमाडौं। आज असार १२ गते शुक्रबार विराटनगरस्थित कोइराला निवासमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र माधव कुमार नेपालले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग गरेको भेटलाई सामान्य शिष्टाचारका रूपमा मात्र व्याख्या गर्न सकिँदैन। नेपालको राजनीतिमा कोइराला निवास एउटा घर मात्र होइन, लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको राजनीतिक प्रतीक हो। त्यहाँ हुने हरेक भेटघाटले तत्कालभन्दा परको सन्देश दिने गरेको इतिहास छ।
यो भेट भएको समय पनि उत्तिकै अर्थपूर्ण छ। संसदमा बलियो सरकार छ। तर लोकतन्त्रको अर्को महत्वपूर्ण आधार—प्रभावकारी प्रतिपक्ष—आफ्नो भूमिकामा अपेक्षाअनुसार सशक्त देखिएको छैन। सरकारको आलोचना गर्नेभन्दा पनि आफ्नै अस्तित्व र रणनीति खोज्ने अवस्थाबाट गुज्रिरहेका पुराना दलहरूले जनताको विश्वास पुनः प्राप्त गर्ने चुनौती सामना गरिरहेका छन्। यही परिवेशमा कोइराला निवासमा भएको यो संवादले स्वाभाविक रूपमा राजनीतिक वृत्तमा अनेक प्रश्न जन्माएको छ।
नेपालको राजनीतिक इतिहासले एउटा कुरा बारम्बार प्रमाणित गरेको छ, ठूला परिवर्तनहरू संवाद र सहकार्यबाट सम्भव भएका छन्। २०४६ सालको जनआन्दोलनमा कांग्रेस र वामपन्थी शक्तिहरू एउटै मोर्चामा उभिए। २०६२–६३ को आन्दोलनमा पनि फरक राजनीतिक धारका दलहरू साझा उद्देश्यका लागि एक ठाउँमा आए। ती सहकार्यहरू तत्कालीन राजनीतिक आवश्यकता थिए। आज परिस्थिति फरक छ। अहिले न राजतन्त्रविरुद्ध आन्दोलन छ, न संविधान निर्माणको संक्रमण। तर लोकतान्त्रिक संस्थाप्रति बढ्दो अविश्वास, कमजोर राजनीतिक उत्तरदायित्व र जनअपेक्षाको दबाबले फेरि संवादको आवश्यकता महसुस गराएको देखिन्छ।
विशेष गरी पछिल्ला केही वर्षमा गठबन्धन राजनीति सत्ताकेन्द्रित हुँदै गएको आरोपबाट पुराना दलहरू मुक्त हुन सकेका छैनन्। सरकार फेरिए, समीकरण फेरिए, प्रधानमन्त्री फेरिए तर जनजीवनसँग जोडिएका आधारभूत प्रश्नहरू उस्तै रहे। यही कारणले जनताले विकल्प खोजे, र नयाँ राजनीतिक शक्तिहरूले त्यसको अवसर पाए।
यसबीच पुराना दलहरूले पनि एउटा यथार्थ बुझ्न थालेका छन्, सत्ता गुमाउनु मात्रै चुनौती होइन, जनविश्वास गुमाउनु अझ ठूलो संकट हो। त्यसैले अहिले उनीहरूको खोज केवल नयाँ गठबन्धनको नभई नयाँ राजनीतिक वैधताको पनि हो। कोइराला निवासमा भएको भेटलाई यही सन्दर्भमा हेर्नुपर्ने हुन्छ।
अर्कोतर्फ, यस भेटले अर्को संकेत पनि गरेको हुन सक्छ। राजनीतिक रूपमा कमजोर देखिएका विपक्षी शक्तिहरूले संसदभित्र र बाहिर सरकारलाई कसरी प्रभावकारी रूपमा जवाफदेही बनाउने भन्नेबारे साझा धारणा बनाउन खोजिरहेका हुन सक्छन्। लोकतन्त्रमा बलियो सरकार जत्तिकै बलियो प्रतिपक्ष पनि आवश्यक हुन्छ। प्रतिपक्ष कमजोर हुँदा सरकार पनि क्रमशः कम उत्तरदायी बन्ने जोखिम रहन्छ।
तर एउटा प्रश्न अझै बाँकी छ, के पुराना दलहरूले इतिहासबाट साँच्चिकै पाठ सिकेका छन्रु यदि यो संवाद फेरि पनि केवल दलीय समीकरण मिलाउने अभ्यासमा सीमित भयो भने त्यसले जनताको विश्वास फर्काउने छैन। जनता अहिले अनुहारको परिवर्तनभन्दा राजनीतिक संस्कारको परिवर्तन खोजिरहेका छन्। पारदर्शिता, उत्तरदायित्व, सुशासन र परिणाममुखी नेतृत्वबिना कुनै पनि नयाँ समीकरण पुरानै निराशाको पुनरावृत्ति बन्न सक्छ।
कोइराला निवासको यो भेटलाई त्यसैले दुई कोणबाट हेर्न सकिन्छ। एउटा, लोकतान्त्रिक शक्तिहरूबीच संवादको सकारात्मक सुरुआतका रूपमा। अर्को, विगतजस्तै सत्ता केन्द्रित समीकरणको सम्भावित अभ्यासका रूपमा। यीमध्ये कुन अर्थ सही हो भन्ने कुरा आगामी दिनका राजनीतिक व्यवहारले स्पष्ट पार्नेछ।
राजनीतिमा प्रतीकहरूको ठूलो महत्व हुन्छ। विराटनगरको कोइराला निवासले विगतमा लोकतान्त्रिक आन्दोलनका धेरै ऐतिहासिक निर्णयहरूको साक्षी बसेको छ। आज फेरि त्यही छानामुनी भएको संवादले एउटा सन्देश दिएको छ, पुराना दलहरू अझै पनि नयाँ राजनीतिक बाटो खोजिरहेका छन्। तर त्यो बाटो जनताको विश्वाससम्म पुग्छ कि केवल विपक्षी गठबन्धनको ढोकासम्म पुगेर टुङ्गिन्छ, त्यसको उत्तर भविष्यले दिनेछ।
लोकतन्त्रमा संवाद सधैं स्वागतयोग्य हुन्छ। तर संवादको मूल्य त्यसले जन्माउने परिणामले निर्धारण गर्छ। त्यसैले कोइराला निवासबाट सुरु भएको यो संवादलाई इतिहासले कस्तो नाम दिनेछ भन्ने कुरा अब नेताहरूका शब्दले होइन, उनीहरूका कामले तय गर्नेछन्। -तस्बिर सामाजीक सञ्जालबाट
