अनुदान शिक्षकद्वारा प्रदर्शन: ‘माग सम्बोधन नभए सामूहिक राजीनामा’
काठमाडौँ । सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३-८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन सुरु गरेको छ। लामो समयदेखि पेसागत निरन्तरता, स्थायित्व तथा सेवा-सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गराउन शिक्षकहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।
सरकारले यसअघि विक्रम संवत २०७८, २०८० र २०८२ सालमा गरेका सहमतिहरू तथा सङ्घीय शिक्षा ऐनको निर्णयार्थ पेस गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापनसम्बन्धी प्रावधानलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप शिक्षकहरूले लगाएका छन्। विशेषगरी ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने पूर्वसहमति कार्यान्वयन नगरेर सरकारले अनुदान शिक्षकका मागप्रति उदासीनता देखाएको आन्दोलनकारीको भनाइ छ।
हाल देशभर माध्यमिक र आधारभूत तहमा अङ्ग्रेजी, गणित तथा विज्ञानजस्ता मुख्य विषयहरू अध्यापन गराउने करिब ११ हजार सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरू कार्यरत छन्। सरकारले हालै सार्वजनिक गरेको बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्तालगायतका अत्यावश्यक मागहरू स्पष्ट रूपमा समावेश नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिले जनाएको छ।
शिक्षकहरूले आफ्ना मागहरू तत्काल सम्बोधन नभए देशभरकै पठनपाठन ठप्प पार्ने र सामूहिक राजीनामा समेत दिन बाध्य हुने चेतावनी दिएका छन्। आन्दोलनको पहिलो दिन हिजो बिहान १० बजे शिक्षकहरूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित उपस्थित भएर धर्ना तथा प्रदर्शन गरेका थिए।
