नोबेलमा लापरबाही : अप्रेसन थिएटरमै छोडेर डाक्टर हिँड्दा गुम्यो बालकको आँखाको ज्योति

विराटनगर । नाकको सामान्य उपचार गरेर निको हुने आशामा अस्पताल पुगेका ७ वर्षीय बालक जेनिश पाठकको आँखामा डाक्टरको एकैछिनको लापरवाहीले गम्भीर क्षति पुगेको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको मासु पलाएको शल्यक्रिया गर्न पुगेका इटहरी-१ का जेनिशले चिकित्सकको चरम लापरवाहीका कारण एउटा आँखाको ज्योति गुमाउनुपरेको पुष्टि भएको छ।

के थियो घटना?

गत मंसिर ५ गते अप्रेसन थिएटरमा जेनिशलाई बेहोस बनाएर शल्यक्रिया सुरु गरिँदै थियो। डा. प्रज्वल श्रेष्ठको नेतृत्वमा शल्यक्रिया चलिरहँदा एकाएक डाक्टर श्रेष्ठ ‘अर्को इमर्जेन्सी बिरामी हेर्नुपर्‍यो’ भन्दै बालकलाई थिएटरमै अलपत्र छोडेर बाहिर निस्किए।

मुख्य डाक्टर नै हिँडेपछि सहायक डाक्टर कविराज बास्तोलासहितको टोलीले शल्यक्रिया त पूरा गर्यो, तर परिणाम भयानक निस्कियो।

हत्तपत्त डिस्चार्ज, पछि खुल्यो रहस्य शल्यक्रियाको भोलिपल्टै जेनिशको आँखामा गम्भीर समस्या देखियो। तर, आफ्नो गल्ती लुकाउन अस्पतालले हतार–हतार उनलाई डिस्चार्ज गरिदियो। शंका लागेर परिवारले विराटनगर आँखा अस्पतालमा चेकजाँच गराउँदा रिपोर्ट सुनेर उनीहरू छाँगाबाट खसेझैँ भए- ‘बालकको दाहिने आँखाको भित्री भाग ड्यामेज भइसकेको छ, अब कहिल्यै देख्न सक्दैनन्।’

छानबिनको निष्कर्ष

डाक्टरको चरम लापरवाही स्वास्थ्य मन्त्रालयले गठन गरेको डा. अनिता जिसी नेतृत्वको छानबिन समितिले यसलाई ‘चरम चिकित्सकीय लापरवाही’ ठहर गरेको छ। बयानका क्रममा डा. प्रज्वल श्रेष्ठले आफू शल्यक्रिया पूरा नगरी निस्किएको स्वीकारेका छन्। समितिले डाक्टरमाथि कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको सिफारिस गर्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ।

 

विराटनगरको नोबेलमा नाकको शल्यक्रिया गर्दा बालकको आँखाको ज्योति गुम्यो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *