विराटनगरको नोबेलमा नाकको शल्यक्रिया गर्दा बालकको आँखाको ज्योति गुम्यो

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नाकभित्र पलाएको मासुको सामान्य शल्यक्रिया गराउँदा सुनसरी, इटहरीका एक ७ वर्षीय बालकले दाहिने आँखाको ज्योति गुमाएका छन्।

अस्पतालको चरम लापरबाहीका कारण भविष्य अन्धकार भएको भन्दै पीडित परिवारले नोबेल शिक्षण अस्पताल र उपचारमा संलग्न चिकित्सकविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन्।

के हो घटना?

सुनसरीको इटहरी उपमहानगरपालिका–१ हाँसपोसाका जेनिस पाठकको नाकको दाहिने प्वालमा पलाएको मासु हटाउनका लागि मंसिर ४ गते नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। चिकित्सकको सल्लाहबमोजिम मंसिर ५ गते शल्यक्रिया गरियो। तर, शल्यक्रियापछि बालकको दाहिने आँखाभित्र पसेको र आँखाको ज्योति नै गुमेको परिवारले थाहा पाए।

बालकका मामा श्रीकृष्ण प्रसाईंका अनुसार आँखाको ज्योति गुमेको थाहा पाएपछि नोबेल अस्पतालले हतारहतार जेनिसलाई डिस्चार्ज गर्‍यो। आफन्तले तत्काल बालकलाई विराटनगर आँखा अस्पताल रानी पुर्‍याए।

विराटनगर आँखा अस्पतालका चिकित्सकहरूले जेनिसको दाहिने आँखाको भित्री भाग ‘ड्यामेज’ भइसकेका कारण ज्योति फर्कने सम्भावना २ प्रतिशतभन्दा पनि कम रहेको जानकारी दिएका छन्। शल्यक्रियाका क्रममा आँखाको भित्री भागको हड्डी निकालिएकोले आँखामा गम्भीर चोट लागेको चिकित्सकहरूको भनाइ छ।

अस्पतालको लापरबाही र बदमासी भएको भन्दै बालकका मामा श्रीकृष्ण प्रसाईंले डाक्टर प्रज्वल श्रेष्ठ र कविराज बास्तोलालाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटनालाई गम्भीर रूपमा लिइएको बताए। उजुरी परेसँगै छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको जानकारी दिँदै प्रजिअ कट्टेलले भने, ‘छानबिन रिपोर्ट प्राप्त भएपछि कारबाहीका लागि मेडिकल काउन्सिलसँग समन्वय गर्छौं। हामी चिकित्सक टोलीसँग पनि परामर्श लिँदै छौं।’

उपचारमा संलग्न डाक्टर प्रज्वल श्रेष्ठले भने लापरबाही नभएको दाबी गरेका छन्। उनले शल्यक्रिया गर्दा आँखामा समस्या आएको स्वीकार गरे पनि त्यसलाई ‘जटिलता’ को रूपमा प्रस्तुत गरेका छन्। अस्पताल प्रशासनका अधिकारी घटनाबारे प्रतिक्रिया दिन सम्पर्कमा आउन चाहेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *