विधेयक रोकिएपछि आन्दोलनको तयारीमा शिक्षक महासंघ
फाइल तस्बिर
काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको विस्तारित कार्यालयीय बैठक आइतबार काठमाडौँको बबरमहलमा सम्पन्न भएको छ। बैठकले आन्दोलनको तेस्रो चरण सुरु गर्ने तयारी स्वरूप साउन २ गते पत्रकार सम्मेलनमार्फत औपचारिक कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार बैठकले ‘शैक्षिक आन्दोलन भाग–३’ आवश्यक भएको ठहर गरेको छ। उनले भनिन्, “अघिल्लो आन्दोलन (माघ २० देखि वैशाख १७ सम्म) लाई सरकारले गम्भीरतापूर्वक नलिएपछि फेरि संघर्षको बाटो रोज्नु परेको हो।”
उनका अनुसार ८९ दिनसम्म चरणबद्ध आन्दोलन गरिए पनि सरकार बेवास्तामा उभिएको निष्कर्ष बैठकले निकालेको छ। “काठमाडौँमै २९ दिनसम्म आन्दोलन भयो, तर सरकारले शिक्षकको मर्म, भावना र गरिमा लत्यायो,” पराजुलीले भनिन्।
बैठकमा सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको र शिक्षा ऐन पारित गर्नसमेत आलटाल गरिएको निष्कर्ष निकालिएको छ। “सरकारले शिक्षक महासंघलाई झुक्यायो, ऐनको मस्यौदा पनि लम्ब्याउने खेल भयो,” पराजुलीले आरोप लगाइन्।
उनका अनुसार साउन ५ गतेसम्म महासंघले सबै सरोकारवाला पक्षलाई आन्दोलनमा जाँदैछौँ भन्ने स्पष्ट सन्देश दिनेछ। “हामी लामो समय पर्ख र हेरको अवस्थामा थियौँ, अब आन्दोलन अपरिहार्य भएको छ,” उनले भनिन्।
राहत शिक्षक आन्दोलित, शिक्षा विधेयकलाई ‘कालो विधेयक’ को संज्ञा
