समीक्षाकै लागि लेखिएको गीत ‘जीवनको रेल’

सामान्यतया गीत लेखेपछि गायक गायिका छनोट गरेर गाउन दिने चलन छ । गीत तयार भएपछि कसले गाउँदा यो राम्रो होला वा चर्चित होला भन्ने कतिपयको सोचाइ हुन्छ । अनि छनोटको कामतिर लाग्ने चलन छ ।

कतिपय अवस्थामा त कोही गायक, गायिका छनोट गरिसकेपछि फेरि अर्को कलाकार छानिएका उदाहरण पनि निकै सुनिन्छ । तर यो गीत मैले समीक्षाकै लागि भनेर लेखें । लेख्नुअघि नै मैले उनलाई सम्झिएर लेखें । उनकै जीवन कथाबाट प्रेरित पनि भएँ । त्यसैले मलाई यो गीतलाई समीक्षाकै गलाले मात्र न्याय गर्न सक्छ भन्ने लाग्यो ।

‘जीवनको रेल छुटेर जाँदा थाहा नै भएन
गर्न त मैले कल्पना सुन्दर गरेकै थिएँ नि
यसरी भाग्य फुटेर जाँदा थाहा नै भएन
पाउन त मैले जीवनमा अनेक हण्डर पाकी छु
तै पनि एकदिन उठ्नेछु भन्ने कसम खाकी छु’

यो गीत लेख्न ६ महिना लाग्यो । केवल समीक्षाले नै गाउने भनेर लेखेको गीत हो, ‘जीवनको रेल’ । समीक्षालाई केन्द्रमा राखेर नसोचेको भए सायद यो गीत बन्ने पनि थिएन ।

‘जीवनको रेल’ ले अनायास, अन्जानमा, अकस्मात र कतिपय आफ्नै लापरबाहीले गर्दा समयले आफैंलाई छोडिदिएको हुन्छ । पत्तै पाइन्न । पछि पत्तो पाएर पछुताउनु मात्र हो ।

समीक्षाको जीवन कहानीमा मात्र हैन, कयौं मानिसको जीवन कहानीसँग पनि मेल खान्छ यो यथार्थ । कतिपय मेरै जीवन कहानीसँग पनि नजिक छ । समय चिनेनौं भने ठिक समयमा चल्ने रेलले पक्कै पनि छोडेर हिंड्छ । मलाई छोडेर हिँड्छ । तपाईंलाई छोडेर हिंड्छ । सबैलाई छोडेर अघि बढ्छ ।

यो गीतमा मीठो संगीत भरेर पुरुष स्वर जुझारू बहुप्रतिभाशाली गायक सिडी बिजय अधिकारीको रहेको छ । गीतको मर्म बुझेर मिक्सिङ्ग मास्टरिङ्ग सबै बिधामा पोख्त अनुभवी राजकुमार बगरले गरेका छन् ।

हिम्मतवाली, साहसी गायिका समीक्षा अधिकारी, अर्की साहसी गायिका ‘कट्टा हान्दिन्छु’ गाउने एलिना चौहान, छुट्टै रमाइली गायिका ‘न बिर्सें तिमीलाई’ अञ्जु पन्त, ‘रुमाल चिनो’, ‘फोटो फिरिममा’ जस्ता गीत गाएकी रचना रिमाललगायत थुप्रै प्रतिभाशाली गायिकाहरूले समाजमा साँचो, यथार्थ, ज्ञानबर्द्धक तरङ्ग ल्याउन सकुन् । रोलमोडल पनि बन्न सकुन् ।

गायनमा मात्र अब्बल होइनन् समीक्षा र एलिना । सामाजिक न्यायका लागि पनि आफूलाई अग्रणी स्थानमा राखेर काम गरिरहेका छन् । केही दिनअघि उनीहरूले सामाजिक सञ्जालमा घृणास्पद टिप्पणी गर्नेहरूविरुद्ध युद्ध नै छेडेका छन् ।

आफूहरूको बारेमा नचाहिँदो टिप्पणी गर्ने, घृणा फैल्याउने जस्ता गतिविधि गर्नेहरूको परिचय सार्वजनिक गर्न थालेका छन् । उनीहरूको यो अभियानले धेरैको समर्थन पाइरहेको छ ।

उनीहरूको अभियापछि घृणास्पद टिप्पणी गर्नेहरूमध्ये कतिपयले माफी मागेका घटनाहरू पनि सार्वजनिक भइरहेका छन् । यसले गायिकाद्वय अधिकारी र चौहानले गरिरहेका कार्यले त्यस किसिमको प्रवृत्तिलाई निरुत्साहित गर्न सघाएको छ भन्ने देखाउँछ ।

गायिका अधिकारीको भनाइ छ, ‘मैले मेरो पोस्टमा हालै आएका सबै कमेन्टहरू पढेकी त छैन तर यस्तो अभियान सुरु गरेदेखि पहिलेको तुलनामा धेरै फरक परेको छ । पहिले एउटै पोस्टमा हजारौँको सङ्ख्यामा नकारात्मक कमेन्टहरू आउँथे ।’

त्यसरी घृणास्पद कुरा लेख्ने कतिपयले आफूहरूसँग माफी माग्न थालेको गायिकाद्वयको भनाइ छ । ‘हामीले जे गरिरहेका छौँ त्यसबाट हाम्रोजस्तो पीडा भोग्ने धेरैजना खुसी भएका छन्’ अधिकारी भन्छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न सामाजिक अभियन्ताले अभियानको प्रशंसा गरेका छन् । उक्त अभियानले समाजलाई घृणास्पद अभिव्यक्तिबारे संवेदनशील बनाउन सघाउने विश्वास पनि लिइएको छ ।

प्रधानमन्त्री ओलीले हालै आफ्नो फेसबुक पेजमा गायिकाद्वयलाई साहसी छोरीहरू को संज्ञा दिँदै उनीहरूको तरिका सही लागेको उल्लेख गरेका थिए ।

गृहमन्त्री रमेश लेखकले पनि दुवै गायिकालाई आफ्नो कार्यालयमा डाकेर उक्त अभियानको प्रशंसा गरेका थिए । ‘उहाँहरूले हिम्मत गर्नुभयो, यस्तो पीडामा धेरै मानिसहरू हुनुहुन्छ’ गृहमन्त्री लेखकले भनेका छन्, ‘समाजका बुझ्ने मानिसहरू त्यस्ता किसिमका गतिविधिविरुद्ध उभिन जरुरी छ । गलत कुराको विपक्षमा उभिने उहाँहरूको कार्य सराहनायोग्य छ ।’

दीपेन्द्रको मनबाट दर्शक-स्रोतासम्म पुगेको ‘तिमी नै छौ यो मनमा’

अधिकारीको नयाँ सिर्जना ‘जीवनको रेल’ सार्वजनिक

दीपेन्द्रको अर्को सन्देशमूलक गीत ‘सपना सजाइ’

दीपेन्द्रको दसैँ कोसेली : ‘फर्किन्छु यसपालि’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *