यात्रु पछ्याएर चोरी गर्ने भारतीय महिलाको समूह विराटनगरमा सक्रिय
विराटनगर । रामप्रसाद शर्मा (नाम परिवर्तन) परिवारसहित विराटनगरको पञ्चमुखी हनुमान मन्दिर नजिक रहेको एउटा सुनचाँदी पसलमा गएका थिए । परिवारका एक सदस्यका लागि एउटा गहना बनाउनु पर्ने भएकाले त्यहाँ पुगेका उनीहरू घर फर्कन सिटी सफारीमा चढे ।
उनीहरू तीन जना थिए । सिटी सफारी केही पर पुगेपछि तीन जना महिलाले रोके । उनीहरु हस्याङफस्याङ गर्दै चढे । आपसमा हिन्दीमा कुराकानी गरिरहे । अघिल्लो चोक आएपछि उत्रिए ।
सिटी सफारी अघि बढ्यो । गन्तव्य पुगेपछि शर्मा परिवार ओर्लिए । त्यति बेला थाहा भयो– शर्माकी श्रीमतीले बोकेको झोला छैन । झोलामा त्यही दिन किनेको मरमसला र अरु घरेलु सामान थियो । भरखरै किनेको गहना भने उनले अर्कै सानो ‘पर्स’ मा राखेकी थिइन् । फर्किएर सुनचाँदी पसलमा पो छुट्यो कि भनेर सोधे । थिएन ।
अनि उनले सम्झिइन्, झोला त बोकेकै थियो । आफू बसेछेउ राखेकी थिइन् । बीचमा चढेका ती महिलाले झोला चोरी गरेको निष्कर्षमा उनीहरू पुगे । यो एउटा उदाहरण घटना हो । यही प्रकृतिका चोरीका घटना विराटनगरमा बढिरहेका छन् ।
समूह बनाएर संगठित रुपमा चोरी गर्ने भारतीय महिलाहरूको समूह विराटनगरमा सक्रिय छ । यो जानकारी पाएको प्रहरीले निगरानी पनि गर्न थालेको छ । यही क्रममा शुक्रबार एउटा समूह पक्राउ परेको छ ।
चोरीमा संलग्न भारतीय तीन जना महिला पक्राउ परेका हुन् । प्रहरीका अनुसार भारतको पूर्णिया घर भएका २५ वर्षीया बिहोला धामी, २५ वर्षीया प्रियंका धामी र २० वर्षीया अटकारी धामी पक्राउ परेका हुन् ।
सिटी सफारीमा कटहरी गाउँपालिका जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले तीन लाख रुपैयाँ बरामद गरेको छ । सोही सिटी रिक्सामा यात्रा गरिरहेका मोरङको कटहरी गाउँपालिका–४ का ७० वषीय नारायणप्रसाद काफ्लेको झोला महिलाको उक्त समूहले चोरी गरेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरमा सिटी सफारी, अटो रिक्सा जस्ता साधनमा यात्रा गर्नेहरुको नगद र मालसामान चोरी हुने क्रम बढेको छ । यस्ता घटना बढिरहेको भन्ने गुनासो आएपछि निगरानी बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले बताइन् ।
प्रहरीका अनुसार सुनचाँदीका गहना पसल, बैंक र अरू पसलहरुमा आउने ग्राहकलाई लक्षित गरेर भारतीय महिलाहरूको समूह चोरी गर्न सक्रिय भएको पाइएको छ । बैंकबाट रकम झिक्नेहरु सिटी सफारी जस्ता सार्वजनिक सवारी साधनमा चढे भने आफूहरु पनि चढ्ने अनि चोरी गर्ने गरेका घटना निकै पाइएको छ ।
यसैगरी गहना पसल र कपडा, किराना पसलहरूमा किनमेल गरेर फर्कनेहरूलाई पछ्याएर चोरी गर्ने गरिएको छ । उनीहरू चढेकै साधनमा चढेर ठाउँका बारेमा सोधखोज गरेर भुल्याउने गरिएको पाइएको प्रहरीको भनाइ छ । त्यही बेला समूहका एक जनाले झोला, पर्स र उस्तै गरे लगाएकै गहना पनि चोरी गर्ने गरेका छन् ।
पछिल्लो समय यसरी चोरी भएर पीडित बनेकाहरू प्रहरीकहाँ पुगिरहेका छन् । घटना बढिरहेको पाएपछि थप सतर्कता अपनाइएको डीएसपी चुडालले बताइन् । शंकास्पद गतिविधि गर्ने त्यस्ता समूह देखिए जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।
