कोरोना संक्रमित इलामकी महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरसबाट संक्रमित इलामकी एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार ३९ वर्षीया महिलाको महिलाको मृत्यु भएको हो । सूर्योदय नगरपालिका-१० की ती महिलालाई उपचारका लागि मंगलबारै बिहान अस्पतालमा भर्ना गरिएको थियो । बिहान करिब ६ बजेतिर उनको मृत्यु भएको प्रबन्धक राईले सरल पत्रिकालाई जानकारी दिए ।

भर्नाका लागि ल्याउँदा नै बिरामीको अवस्था गम्भीर रहेको उल्लेख गर्दै राईले आकस्मिक कक्षमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको जानकारी दिए । ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएको थियो भने ज्वरो समेत आएको थियो ।

यी समस्या देखिएपछि सोमबार झापाको बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । त्यस क्रममा उनमा कोरोना संक्रमण पाइएको थियो । त्यसपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी प्रक्रिया पूरा गरेर महिलाको शव परिवारको जिम्मा लगाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

कोशी प्रदेशका विभिन्न जिल्लामा अरु ९ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले जानकारी दिए । झापाका ४ जना र मोरङ तथा इलामका २-२ जनामा संक्रमण पाइएको छ ।

केही दिनअघि इलामकै रोङ गाउँपालिका निवासी एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । वडा ४ निवासी ७४ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानका अनुसार उनमा लक्षण देखिएपछि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा उनमा कोभिड–१९ संक्रमण पुष्टि भएको चौहानले जानकारी दिए । हाल उनी आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

इलामको रोङका एक जना वृद्धलाई कोरोना संक्रमण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *