यो वर्ष सरदरभन्दा बढी पानी पर्ने, तापक्रम पनि बढी

काठमाडौं। यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यो वर्ष पानी बढी पर्ने साथै तापक्रम पनि सरदरभन्दा बढी हुने जनाएको हो।

विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यो जानकारी दिएको हो। वरिष्ठ मौसमविद् विभूति पोखरेलले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेष अनुसार फरक–फरक रहेको बताइन्।

ठाउँअनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको उनको भनाइ छ।

विभागका अनुसार यस वर्ष प्रि–मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा भइसकेको छ। यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिममा औसतभन्दा धेरै वर्षा हुने जनाइएको छ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ। सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ। यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्छ।

यस वर्ष पनि मनसुन अवधिमा प्राकृतिक प्रकोप बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न मौसमविदहरूले सुझाव दिएका छन्। जलवायु तथा विपदविद् धरम आर उप्रेतीका अनुसार सरदरभन्दा बढी वर्षा हुने अवस्थामा बेलैदेखि सावधानी अपनाउनु आवश्यक हुन्छ।

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य’ सम्बन्धी कार्ययोजनामा उल्लेख गरिएअनुसार वर्षभरि पर्ने कुल देशभर वार्षिक रूपमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिनाको अवधिमा र २० प्रतिशत वर्षा बाँकी आठ महिनामा हुन्छ।

वर्षा गराउने प्रणाली सक्रिय, पूर्वतिर सर्दै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *