दक्षिणी नाकाबाट आउजाउ गर्न परिचयपत्र अनिवार्य

काठमाडौं। नेपाल-भारत सीमा नाकाबाट आवागमन गर्न परिचयपत्र आवश्यक हुने भएको छ। सरकारले परिचयपत्र बाहक यात्रुलाई मात्रै आउजाउ गर्न दिन परिपत्र गरेको हो।

गत वैशाख ९ गते भारतको पहलगाममा एक नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणसँगै भारत–पाकिस्तान तनाव बढेको छ। तनाव चर्किएर युद्धको अवस्था छ। यही अवस्थालाई ध्यान दिंदै गृह मन्त्रालयले दक्षिणी नाकाबाट आउजाउ गर्दा परिचयपत्र अनिवार्य गरेको हो।

सरकारको निर्देशनपछि नाकाबाट आउजाउ गर्ने व्यक्ति कुन ठाउँबाट आएको हो, कहाँ जाने, के उद्देश्यले जाने जस्ता विवरण सीमा नाकामा राख्न थालिएको जनाइएको छ।

गृह मन्त्रालयले भारततर्फ सीमा क्षेत्रमा निगरानी बढाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र दक्षिणतर्फ सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

सीमा क्षेत्रमा सशस्त्रका साढे दुई सय बोर्डर आउट पोस्ट (बीओपी) छन्। प्रहरीका ६० भन्दा बढी सीमा इलाका युनिट छन्। तीबाहेक थप गस्ती टोलीहरू परिचालन गरी निगरानी बढाइएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार सीमाक्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिइएको बताए।

भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा अन्तर्राष्ट्रिय सीमा छ। पूर्वमा झापाका विभिन्न नाकादेखि विराटनगरलगायत मोरङ, सुनसरी हुँदै दक्षिणी जिल्लामा रहेका नाकाहरूमा विशेष निगरानी राख्न थालिएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रमा नेपालको कडाइ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *