शिक्षक आन्दोलन : पठनपाठनको क्षति बिदाका दिनमा मिलाइने

काठमाडौं। लामो समयसम्म आन्दोलन हुँदा देशभरका शिक्षक एवं कर्मचारीहरू काठमाडौंमा केन्द्रित भए। त्यस क्रममा विद्यालय भर्ना अभियान र पठनपाठन प्रभावित भयो।

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन ८९ दिनसम्म चलेको थियो भने २९ दिन शिक्षक–कर्मचारी काठमाडौंमा केन्द्रित भएका थिए।

आन्दोलनकै क्रममा चैत २५ गतेदेखि शैक्षिक आम हडताल पनि घोषणा गरिएको थियो। त्यसले गर्दा पठनपाठनमा बाधा उत्पन्न भएको थियो।

उक्त अवधिमा पढाइ नहुँदा विद्यार्थी मर्कामा परे। त्यस अवस्थालाई ध्यान दिंदै हिउँदे वा वर्षे बिदामा पढाइलाई थप महत्व दिइने भएको छ। आन्दोलनका क्रममा भएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राख्दै आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा ‘क्षति आपूरण’ (भर्ने काम, पूरा गर्ने प्रक्रिया) गर्न महासंघले आग्रह गरेको छ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

सरकारसँग भएको सहमति कार्यान्वयन गर्नका लागि मन्त्रिपरिषदबाट निर्णय गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको महासंघले जनाएको छ। सहमतिअनुसार २०८२ असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने सुनिश्चित भएको महासंघले उल्लेख गरेको छ।

आन्दोलनपछि कतिपय विषयहरू कार्यान्वयन गर्ने सन्दर्भमा महासंघ अध्यक्ष सुवेदीसहितको टोलीले विभिन्न राजनीतिक दलका संसदीय फाँटका जिम्मेवार व्यक्तिहरूसँग भेटवार्ता गर्ने कामलाई पनि निरन्तरता दिइरहेको छ।

सम्झौतामा असन्तुष्ट विद्यालय कर्मचारीको आन्दोलन जारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *