सम्झौतामा असन्तुष्ट विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौं। आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै विद्यालय कर्मचारीहरूले आन्दोलन जारी राखेका छन्। उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगारम तिवारीका अनुसार जेठ २ गतेसम्म कालोपट्टी बाँधेर ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ।

उनले भने, ‘हाम्रो आन्दोलन जारी छ । जेठ २ गतेसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्छौं।’ परिषदका वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, महासचिव शान्तिराम योगी र अध्यक्ष तिवारीले माग सम्बोधन गर्न मन्त्रालयसँग पहल गरिरहेको जनाइएको छ।

शिक्षक र कर्मचारीहरुको लामो आन्दोलनपछि गत वैशाख १७ गते सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो। आफूहरुको माग सम्बोधन नभएको भन्दै त्यसमा कर्मचारीले विरोध जनाएका थिए।

लेखापालको मासिक तलब खरदारसरह ३२ हजार ९ सय २ रुपैयाँ र विद्यालयको कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग सहमति भए पनि सरकारसँग सम्झौता हुँदा तोकिएबमोजिम भनेर आएको अध्यक्ष तिवारीको भनाइ छ।

‘तोकिएबमोजिम भनेको कति हो?’ उनले भने, ‘ऐन बनेर नियमावली बनेर आउने रे। त्यो पनि कहिले बन्ने हो? २०८३ मा ऐन आउला, त्यतिबेलासम्म के खाने? कर्मचारी भोकै मर्ने?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *