‘शिक्षकका माग ३ दिनभित्र पूरा गरी पठनपाठनको वातावरण बनाऊ’
काठमाडौं । सर्वाेच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, ‘शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’
तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईई बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिन पनि सर्वोच्चले भनेको छ।
यसैगरी, कक्षा १२ को परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको भन्दै आदेशमा परीक्षा समयमै गर्न र नसार्न पनि भनिएको छ। आदेश प्राप्त भएको मितिले चौथो दिन आदेश कार्यान्वयनको प्रगति सम्बन्धमा प्रतिवेदन पेस गर्न पनि सर्वोच्च अदालतले शिक्षा मन्त्रालयलाई आदेश दिएको छ।
शिक्षक एवं कर्मचारी चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। आन्दोलनका कारण विद्यार्थी भर्ना, पठनपाठन, परीक्षा र उत्तरपुस्तिका परीक्षण लगायत शैक्षिक गतिविधि ठप्प छ।
यस्तो छ सर्वोच्च अदालतको आदेश-




