काठमाडौंमा थपिँदै शिक्षक-कर्मचारी, माग पूरा नभइ नफर्कने
काठमाडौं। शिक्षक–कर्मचारीले सुरु गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शन आज शुक्रबार १७औँ दिनमा पुगेको छ। देशभरबाट भेला भएका शिक्षक र कर्मचारीले आज पनि माइतीघरमा भेला भएर वानेश्वरसम्म प्रदर्शन गरेका छन्।
शिक्षा ऐन जारी गर्नुपर्ने, सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै नेपाल शिक्षक महासंघको अगुवाइमा उनीहरु आन्दोलित बनेका हुन्। आन्दोलन लम्बिंदै जाँदा सहभागी हुने शिक्षक र कर्मचारीको संख्या थपिइरहेको छ।
देशभरबाट भेला भएका शिक्षक एवं कर्मचारीहरुले काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।
लामो समयदेखि माग पूरा गराउन आन्दोलन गर्दै आए पनि सरकारले बेवास्ता गरेपछि उनीहरु २० चैतदेखि काठमाडौं केन्द्रित भएका हुन्।
विगतका सम्झौता कार्यान्वयन गर्न सरकारले बेवास्ता गरेको भन्दै शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन्। उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन्।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक अनौपचारिक संवाद भएपनि सरकारले भरपर्दो आधार दिन नसकेको भन्दै शिक्षकहरु औपचारिक वार्तामा बस्न मानिरहेका छैनन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले पहिले गरेका सम्झौता नै पालना नगरेको अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको बताउँदै आएका छन्। त्यही कारण सरकारसँग वार्तामा बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
शिक्षक–कर्मचारीको आन्दोलनमा विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन, नेताहरू र अन्य सरोकारवाला संस्थाले ऐक्यवद्धता जनाउँदै आएका छन्।
