शिक्षा ऐन जारी गर्न दबाब दिंदै आन्दोलनमा ऐक्यवद्धता
काठमाडौं। निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गर्न नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले माग गरेको छ। यसका लागि दबाब दिन आन्दोलन गर्ने उसले घोषणा गरेको छ।
दबाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम गरिने विद्यार्थी नेताहरुले बताएका छन्। काठमाडौंको संवाद डबलीमा शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता रहेको क्रान्तिकारीले जानकारी दिएको छ ।
संगठनका अध्यक्ष वीरेन्द्र शाहले गत चैत २६ गते शिक्षा मन्त्रालयमा ३९ बुँदे माग पत्र बुझाए पनि सरकारले कुनै सुनुवाई नगरेकोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताए।
गणतन्त्र आइसकेको लामो समयमसम्म पनि नेपालमा पञ्चायतकालीन शिक्षा ऐन हुनु दुर्भाग्य भएको बताए। पछिल्लो समय शिक्षकहरुले शिक्षा ऐन जारी गर्न तथा उनीहरुको माग पूरा गर्न आनाकानी गरिरहनुमा राज्यमा बसेका जिम्मेवार व्यक्तिहरुको स्वार्थले अड्काइरहेको शाहले आरोप लगाए।
संगठनकी उपाध्यक्ष रुपा बुढामगरले तत्काल सरकारले निःशुल्क र समान शिक्षा सहितको शिक्षा ऐन जारी गर्न माग गर्दै अन्यथा संगठनले आन्दोलन चर्काउने चेतावनी दिइन्।
