देशभर ‘शैक्षिक हडताल’ घोषणा
काठमाडौं। नेपाल शिक्षक महासंघले शैक्षिक हडताल घोषणा गरेको छ। विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नुपर्ने लगायत माग राखेर आन्दोलनरत महासंघले चैत २५ गतेदेखि शैक्षिक हडताल गर्ने भएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै शैक्षिक हडतालको घोषणा गरेका हुन्। महासंघले देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ।
त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ।
शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ। सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ।
शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण प्रभावित भएको छ। शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको छ।

