काठमाडौंको सडकमा आज हजारौं शिक्षकले सिट्ठी बजाउने
काठमाडौं। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलन जारी छ। विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने लगायतका माग अघि सार्दै देशभरका शिक्षकहरु आन्दोलित बनेका छन्।
आन्दोलनमा सहभागी हुन देशभरबाट हजारौं शिक्षक काठमाडौंमा भेला भएका छन्। चैत २० गतेदेखि जारी पछिल्लो आन्दोलनका क्रममा आज आइतबार सिट्ठी जुलुस प्रदर्शन गरिने भएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सहभागी शिक्षकहरुलाई सिट्ठी लिएर ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् शिक्षकहरुलाई आह्वान गर्दै यस्तो लेखेका छन्–
आज सबै साथीहरुलाई एउटा एउटा सिठ्टी सहित ठिक ११ः०० बजे माइतीघर मण्डला आइपुग्न अनुरोध छ। आदरणीय साथीहरु, शैक्षिक सडक आन्दोलनमा तपाईंको सहभागिता अनिवार्य छ। पेसागत सुरक्षा र उन्नयन तथा विद्यालय शिक्षाको विकासको लागि थालिएको महाअभियान संलग्न हुनु सबैका लागि गर्वको विषय हो।
सबैले मनन गरौं– मेरो आन्दोलन मेरो सहभागिता
बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि
