‘सेटिङ’ मा सवारी लाइसेन्स बनाउने समूह पक्राउ
विराटनगर। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने नाममा यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–४ खार्जीस्थित यातायात कार्यालय अगाडिबाट उनीहरु पक्राउ परेका हुन्। यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ लिने गरेको जनगुनासो आएपछि प्रहरीले निगरानी गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सेवाग्राहीलाई ठगेको गुनासो आएपछि पक्राउ गरिएका उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर–४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थान्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी, बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की, बुढिगंगा–१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल छन्।
पक्राउ परेका कतिपयले आफूहरुको चिनजान यातायात कार्यालयका कर्मचारीदेखि हाकिमहरुसँग रहेको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सजिलै बनाइदिने भनेर प्रलोभन देखाउने गरेका थिए।
लाइसेन्सका लागि लिइने ‘ट्रायल’ परीक्षामा गल्ती भए पनि आफूहरुले भनसुन गरेर पास गराइदिने आश्वासन दिंदै बिचौलियाहरुले रकम लिने गरेको गुनासो आएको प्रहरीले जनाएको छ।
