लाइसेन्स बनाउने नाममा ठगी गर्ने १५ बिचौलिया पक्राउ
सुनसरी । इटहरीस्थित यातायात ब्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालयबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीहरुलाई ठगेको आरोपमा उनीहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८ घर भई इटहरी–१३ शान्ति चोक बस्ने २४ वर्षीया सकुन राई, इटहरी–१२ खनारकी २४ वर्षीया मनिका गिरी, इटहरी–९ का २५ वर्षीय सन्दिप श्रेष्ठ, सप्तरी राजगढ–४ का ४४ वर्षीय प्रशान्त शाह, उदयपुर गाईघाट घर भई इटहरी–२ बस्ने १९ वर्षीय महेश राई, इटहरी–४ का ३४ वर्षीय देवेन्द्र बस्नेत, मोरङको बुढीगंगा–२ टंकीसिनुवारीका ३२ वर्षीय सुशील साह छन् ।
यसैगरी, उदयपुर नगरपालिकाका २३ वर्षीय संयोग राई, इटहरी–१ का ३७ वर्षीय प्रगति खतिवडा, सुनसरीको रामधुनी–१ का ३८ वर्षीय किरणकुमार चौधरी, मोरङको रंगेली–९ का ३३ वर्षीय दुर्गाप्रसाद भट्टराई, इटहरी–४ का ३९ वर्षीय मोहन बास्तोला, १९ वर्षीय सफल राई, इटहरी–५ का १९ वर्षीय अजित खवत्तरी र भोजपुरका युवराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई चालक अनुमतिपत्र बनाउने नाममा सेवाग्राहीलाई ठगी गरेको आरोपमा नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
